काठमाडौं — संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान स्थापना गर्न योगदान दिने सम्पूर्ण शहिद, राजनीतिक दल र अग्रज नेताहरूप्रति कृतज्ञता व्यक्त गर्दै एक कलाकारले नयाँ राजनीतिक शक्ति निर्माणको अभियानमा खुलेर सरिक हुने घोषणा गरेका छन् ।
आफ्नो व्यक्तिगत राजनीतिक आस्था र विचारको सम्मान गर्दै कसैप्रति अपमान वा अनादर नगर्ने प्रतिबद्धतासहित उनले नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनीतिक शक्तिको स्थापनामा सहयोग गर्ने निर्णय लिएको बताएका छन् । उक्त निर्णय उनले पेशागत र व्यक्तिगत जीवनकै सबैभन्दा कठोर निर्णयहरूमध्ये एक भएको उल्लेख गरेका छन् ।
उनले अध्यक्ष रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सम्बोधन गर्दै आफूले लामो समयसम्म दुःख, संघर्ष, मेहनत र धैर्यताले निर्माण गरेको कला यात्राबाट आर्जित दर्शक–श्रोताको मन दुख्न सक्ने भए पनि देशको हितका लागि यो निर्णय लिएको बताएका छन् । कुनै एउटा दलसँग खुलेर उभिँदा अहिले आफूबाट टाढा हुन सक्ने दर्शकको मन भविष्यमा इमानदार काममार्फत जितिने विश्वाससमेत व्यक्त गरेका छन् ।
हालै मेला–महोत्सवमार्फत देशभर लाखौँ नेपालीसँग प्रत्यक्ष भेटेर फर्किएको उल्लेख गर्दै उनले आम नागरिक उग्र नभई शान्त तर गहिरो निराशामा रहेको अनुभव सुनाए । उनका अनुसार नेताहरू र निर्वाचन प्रणालीप्रति नागरिकको विश्वास कमजोर भइसकेको छ । यद्यपि, नयाँ राजनीतिक शक्तिको उदयसँगै धेरै नेपालीले ‘अन्तिम पटक’ आशा राखेर विश्वास गरिरहेको अवस्था रहेको उनले बताए ।
उनले नागरिकहरू उत्साहित देखिए पनि पूर्ण रूपमा ढुक्क नभएको, धेरै प्रश्न र डरका बीच केवल आशावादी मात्रै रहेको उल्लेख गरे । ‘जो आए पनि सबै उस्तै हुन्’ भन्ने मनोविज्ञान गहिरिएको भन्दै उनले नयाँ राजनीतिक नेतृत्वले आफू किन फरक हो भन्ने स्पष्ट रूपमा बुझाउनुपर्ने आवश्यकता औँल्याए ।
राजनीतिको नाममा केही व्यक्ति र शक्तिले बन्धक बनाएको सुन्दर व्यवस्थालाई फुकुवा गरेर यो देश र व्यवस्था सबैको हो भन्ने अनुभूति दिलाउनु आजको मुख्य चुनौती भएको उनको भनाइ छ । अब विचारको भारी होइन, सुधार, विकास र समृद्धिको जिम्मेवारी बोक्नुपर्ने समय आएको भन्दै कम्तीमा वर्तमान नेतृत्वबाट देश सुधारको सुरुवात हुने अपेक्षा व्यक्त गरेका छन् ।
उनले आफू सुधार र समृद्धिको यात्रामा खबरदारी गर्ने साथी र साक्षीका रूपमा सहभागी हुन आएको स्पष्ट पारे । साथै, फेरि दोहोर्याउँदै उनले आफू र आफूजस्तै आम नेपालीले अब ‘अन्तिम पटक’ कुनै व्यक्ति वा दललाई विश्वास गरिरहेको उल्लेख गरे ।
“मैले मतदाताको मुहारमा अन्तिम आशा र उत्साह देखेको छु,” उनले भने, “अब जनतालाई निराश बनाउने छुट कसैलाई छैन ।”