काठमाडौँ – यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएको छ।
आइतबार तीन सय १६ कम्पनीको एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता शेयर ६६ हजार सात सय ७४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४७ करोड ४८ लाख ६८ हजार सात सय ६४ रुपैयाँ बराबरको कारोबार भएको हो। लघुवित्त समूहको उपसूचक एक दशमलव १२, म्युचुअल फन्ड समूहको शून्य दशमलव १८ र अन्य समूहको शून्य दशमलव २९ प्रतिशतले बढेको छ भने अन्य सबै समूहको उपसूचक घटेको छ।
वित्त समूह सबैभन्दा धेरै चार दशमलव ४७ र विकास बैंक समूह दुई दशमलव ६५ प्रतिशतले घटेको छ। बैंकिङ समूह शून्य दशमलव ८७, होटल तथा पर्यटन समूह शून्य दशमलव ६१, जलविद्युत् समूह एक दशमलव ७३, लगानी समूह शून्य दशमलव ६६, जीवन बीमा समूह शून्य दशमलव २९, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८१, निर्जीवन बीमा समूह शून्य दशमलव १२ र व्यापार समूह एक दशमलव ०३ प्रतिशतले घटेको छ।
यस दिन पाँच कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो भने महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको २६ करोड १० लाख ८२ हजार ६६४ रुपैयाँ बराबरको १० लाख ६५ हजार ६५५ कित्ता शेयर किनबेच भएको छ।