काठमाडौँ । पश्चिमी कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १११ पुगेको छ। भूकम्पका कारण सयौं भवनमा क्षति पुगेको छ भने भग्नावशेषमा अझै धेरै मानिस फसेको आशंका गरिएको छ।
देशको तेस्रो ठूलो सहर कालीसहित पेरेरा, क्विब्डो र मनिजालेसमा भूकम्पले ठूलो क्षति पुर्याएको छ। कालीमा उद्धार टोली, सुरक्षाकर्मी र स्वयंसेवकहरूले ध्वस्त भवनका भग्नावशेष पन्छाउँदै जीवित व्यक्तिको खोजी गरिरहेका छन्।
कोलम्बियाका राष्ट्रपति एबेलार्डो डे ला एस्प्रिएलाले कम्तीमा ८७ जना घाइते भएको र करिब १ हजार ६०० भवनमा क्षति पुगेको जानकारी दिएका छन्। तीमध्ये कम्तीमा ६१ भवन पूर्ण रूपमा भत्किएका छन्। उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारले आपतकाल घोषणा गरेको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब ४०० किलोमिटर पश्चिममा रहेको चोको क्षेत्रको सान होजे डेल पाल्मारमा थियो। भूकम्पका शक्तिशाली झट्का छिमेकी इक्वेडर र पानामासम्म महसुस गरिएको थियो। कोलम्बियाको भूगर्भीय सेवाले यो २१औँ शताब्दीमा देशमा रेकर्ड भएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एक भएको जनाएको छ।
स्थानीय अधिकारीका अनुसार रिसारल्डा क्षेत्रमा कम्तीमा ४० जना र भ्याले डेल काउका क्षेत्रमा तीन बालबालिकासहित २७ जनाको मृत्यु भएको छ। चोकोमा नौ, काल्डासमा दुई र एन्टिओक्विया क्षेत्रमा एक जनाको मृत्यु पुष्टि भएको छ। बाँकी मृतकको स्थान पहिचान हुन सकेको छैन।
कालीमा मात्रै सयौं भवन क्षतिग्रस्त भएका छन्। स्थानीय अधिकारीहरूले ३८० वटा क्षतिग्रस्त भवनमध्ये धेरैमा मानिसहरू फसेको हुन सक्ने बताएका छन्। उद्धारकर्मीहरूले भग्नावशेषभित्र जीवित मानिसको खोजीलाई प्राथमिकता दिएका छन्।
पेरेरामा विमानस्थलको संरचनामा समेत क्षति पुगेको छ। स्थानीय सञ्चारमाध्यममा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा विमानस्थलको छतका टुक्रा यात्रुमाथि खसेको देखिएको छ। भवनहरूबाट मानिसहरू भाग्दै गरेको र सहरका विभिन्न स्थानमा धुलोको मुस्लो उडेको दृश्य सार्वजनिक भएका छन्।
मनिजालेसमा नव–गोथिक शैलीमा निर्मित क्याथेड्रलको एउटा टावर भत्किएर मुख्य संरचनामाथि खसेको छ। सम्भावित परकम्पलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। क्षतिको मूल्यांकनका लागि मनिजालेस, क्विब्डो, आर्मेनिया, कार्टागो, बुएनाभेन्टुरा र पेरेराका विमानस्थलका उडानसमेत स्थगित गरिएको छ।
भूकम्पको केन्द्रबिन्दु रहेको चोको क्षेत्र दुर्गम र भौगोलिक रूपमा कठिन भएकाले त्यहाँ भएको क्षतिको पूर्ण विवरण संकलन गर्न समस्या भइरहेको छ। चोकोका धेरै स्थानमा डुंगा वा विमानबाट मात्रै पुग्न सकिने भएकाले उद्धार टोली परिचालनमा समेत चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। क्विब्डोका केही क्षेत्रमा फोन सेवा अवरुद्ध भएको छ।
भूकम्पपछि हराइरहेका मानिसको खोजीका लागि डिजिटल डाटाबेससमेत प्रयोग गरिएको छ। उक्त डाटाबेसमा दुई हजारभन्दा बढी मानिसको विवरण समावेश गरिएको बताइएको छ, जसमा काली र पेरेराका धेरै बासिन्दा छन्।
कोलम्बियामा यसअघि पनि शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको थियो। सन् १९९९ मा आर्मेनिया नजिकै गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी १ हजार १०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।
भूकम्पपछि अन्तर्राष्ट्रिय सहयोगसमेत जुट्न थालेको छ। अमेरिकी विदेश विभागले आपतकालीन आश्रय, खाना तथा अन्य राहत सामग्रीका लागि १ करोड ५५ लाख डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। एल साल्भाडोर, मेक्सिको र चिलीलगायत देशले पनि उद्धार टोली, स्वास्थ्यकर्मी तथा आवश्यक सामग्रीसहित सहयोग गर्न तयार रहेको जनाएका छन्।
सप्ताहन्तमा मात्रै राष्ट्रपतिको शपथ लिएका डे ला एस्प्रिएलाका लागि शक्तिशाली भूकम्पको सामना गर्नु पहिलो ठूलो चुनौती बनेको छ। उनले सरकारको उद्धार तथा राहत अभियानको जिम्मेवारी आफूले व्यक्तिगत रूपमा लिएको बताएका छन्।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।