२४ घन्टामा २४६ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा ३१ थपिए

मुलुकभर थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा आइतबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २४६ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । २४ घन्टामा काठमाडौं उपत्यकामा ३१ जना संक्रमित थपिएका छन् ।
२४ घन्टामा १११ जना डिस्चार्ज भएका छन् । यो सँगै १४ हजार ६०३ जना कोरोना निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमले २४ घन्टामा ८ हजार ८६१ परीक्षण गरिएको बताए ।

थप १ को मृत्यु भएको औपचारिक पुष्टि

पर्साको वीरगन्ज महानगरपालिकाकी ६८ वर्षीया महिलाको शनिबार मृत्यु भएको प्रवक्ता गौतमले बताए । उनका अनुसार ज्वरो, खोकी स्वासप्रस्वासमा समस्या भएपछि १४ गते बयोधा अस्पतालमा भर्ना भएकी ती महिलालाई १७ गते शनिबार नारायणीमा रिफर गर्दा बाटोमै मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका पनि बिरामी थिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ

प्रतिक्रिया