मायोपिया जनचेतना सप्ताह: काठमाडौं, वीरगञ्ज र विर्तामोडमा जनसहभागितासहित र्‍याली सम्पन्न

काठमाडौं, जेठ १० – दृष्टि आई केयर सिस्टमको आयोजनामा काठमाडौं, वीरगञ्ज र विर्तामोडमा मायोपिया (टाढा नदेख्ने दृष्टिदोष) सम्बन्धी जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विश्वभर तीव्र गतिमा फैलिरहेको मायोपियाप्रति जनचेतना फैलाउने उद्देश्यले जेठ ५ गतेदेखि ११ गतेसम्म ‘मायोपिया जनचेतना सप्ताह’ सञ्चालन गरिएको थियो।

सप्ताहव्यापी अभियानमा विभिन्न पेशा, व्यवसाय तथा उमेर समूहका नागरिकको उल्लेखनीय सहभागिता रह्यो। आज बिहान ७ बजे तीनवटै सहरमा आयोजित जनचेतनामूलक र्‍यालीमा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता थियो।

कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयहरूमा स्कुल स्क्रिनिङ कार्यक्रम सञ्चालन गरियो, जहाँ सयौं बालबालिकाको प्रारम्भिक दृष्टि परीक्षण गरिएको थियो। परीक्षणमा सहभागी विद्यार्थीहरूलाई दृष्टिका सबै शाखामा निःशुल्क विस्तृत आँखाको परीक्षण सेवा पनि प्रदान गरिएको थियो।

आजको र्‍यालीलाई सम्बोधन गर्दै दृष्टि आई केयरका कार्यकारी निर्देशक डा. भाईराजा श्रेष्ठले यो अभियान चेतनाको यात्रा भएको बताए। उनले भने, “यो केवल पदयात्रा होइन, दृष्टिकोण परिवर्तन र हाम्रा भविष्यका पुस्ताको दृष्टि सुरक्षित बनाउने सामूहिक संकल्प हो।”

नेपाल अप्थाल्मिक सोसाइटीकी उपाध्यक्ष डा. रञ्जना शर्माले नियमित आँखा परीक्षण र विशेषज्ञ सल्लाहको पालना गरेर मायोपिया नियन्त्रण गर्न सकिने बताइन्। नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्ष निरज देव जोशीले बालबालिकामा तीव्र गतिमा बढिरहेको मायोपियालाई समयमै नियन्त्रण नगरेमा दृष्टि गुम्ने खतरा रहने चेतावनी दिए।

ओए सोसाइटीका महासचिव रमेश प्रधानले बालबालिकाको प्रत्येक ६ महिनामा दृष्टि परीक्षण गरिनुपर्नेमा जोड दिए। मायोपिया विशेषज्ञ दीपक घिमिरेले मायोपियालाई केवल सामान्य दृष्टिदोष नभई दीर्घकालीन दृष्टि गुमाउने प्रमुख कारणका रूपमा लिने आवश्यकतामा बल दिए।

कार्यक्रममा दृष्टि आई केयरको वेबसाइटमा रहेको मायोपिया जोखिम क्याल्कुलेटर प्रयोग गरेर सर्वसाधारणले आफू र आफ्ना बालबालिकाको जोखिम निःशुल्क मूल्याङ्कन गर्न सक्ने जानकारी पनि गराइएको थियो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय