काठमाडौं– एभरेष्ट बैंकमा पहिलो पटक नेपाली नागरिक प्रमुख कार्यकारी अधिकृत(सिईओ) भएका छन् । भातरीय लगानी गरेहको एभरेष्ट बैंकमा सुदेश खालिङ सिईओ भएका छन् । उनले आजबाट एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने भएका छन् । बैंक सञ्चालक समितिले उनलाई ६ महिनाअघि नै नियुक्ति दिएपनि कुलिङ पिरियडको ब्यवस्थाले बल्ल सिइओको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।
स्थापनाको २५ बर्षसम्म भारतीय नागरिकलाई सिइओ बनाएको थियो । नेपालमा खासै काम गर्न नसकेको भन्दै एभरेष्ट सञ्चालक समितिले भारतीय मुलका प्रमुख कार्यकारीलाई १७ महिनामै फिर्ता पठाउने निर्णय गरेको थियो । एभरेष्टले आफ्नो संयुक्त लगानी भएको भारतीय पञ्जाब नेशनल बैंकबाट प्रमुख कार्यकारी अधिकृत ल्याउने गरेको थियो । एभरेष्टमा पञ्जाबको २० प्रतिशत लगानी छ । अब नेपाली प्रमुख कार्यकारी नियुक्त गर्न दुई बैंक मात्र बाँकी छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र नेपाल एसबीआइ बैंकमा अहिले पनि बिदेशी प्रमुख कार्यकारी अधिकृत छन् । नबिलले पनि बिदेशी नै नियुक्त गर्ने गरेकोमा पछिल्लो १३ बर्षयता नेपाली राख्न थालेको छ।
एभरेष्टमा आउनुअघि खालिङ सिटिजन्स बैंकको सञ्चालक समिति सदस्य थिए । यही कारण उनलाई ६ महिनाको कुलिङ लागेको हो। खालिङ लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत थिए । लक्ष्मी बैंकको मूख्य जोखिम अधिकृतको जिम्मेवारीसहित कार्यकारी भाइस प्रसिडेन्डबाट उनी प्रमुख कार्यकारी बनेका थिए । चार बर्षे कार्यकाल पुरा गरी उनी बाहिरिएका थिए। खालिङ लक्ष्मी बैंक आउनुअघि स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालमा प्रमुख सुचना अधिकृतका रुपमा कार्यरत थिए । करिव ३३ बर्ष लामो सक्रिय बैंकिङ अनुभव भएका खालिङ २०६८ साउनदेखि लक्ष्मी बैंक छिरेका थिए ।