काठमाडौँ — चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा नेपालमा ७ हजार ८० वटा विद्युतीय सवारी (कार, जीप र भ्यान) आयात भएका छन्। भन्सार विभागले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांकअनुसार, यो अवधिमा १६ अर्ब ६४ करोड ३२ लाख रुपैयाँ बराबरका इभिहरू नेपाल भित्रिएका हुन्।
गत वर्षको सोही अवधिको तुलनामा यो संख्या १०.०२ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको फागुन मसान्तसम्ममा १५ अर्ब ८१ करोड ९७ लाख रुपैयाँ बराबरका ६ हजार ४३५ वटा इभि आयात भएका थिए।
फागुन महिनामा मात्र ८२४ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन्। माघ मसान्तसम्म १४ अर्ब ७५ करोड ३ लाख रुपैयाँ बराबरका ६ हजार २५६ वटा इभि आयात भएका थिए। नेपालमा चीन, भारत, कोरिया, जर्मनी, अमेरिका लगायतका विभिन्न मुलुकबाट विद्युतीय सवारी आयात भइरहेका छन्।
नेपालमा सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका इभि आयात भएका छन्। समीक्षाधीन अवधिमा ९ अर्ब ६९ करोड २२ लाख रुपैयाँ बराबरका ३ हजार ८७९ वटा इभि नेपाल भित्रिएका छन्। यस्तै, ५० किलोवाट क्षमताका २ हजार ५३१ वटा इभि आयात भएका छन्, जसको मूल्य ४ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ बराबर छ। १०१ देखि २०० किलोवाट क्षमताका ६५४ वटा इभि २ अर्ब २८ करोड ९४ लाख रुपैयाँमा आयात भएका छन्।
नेपालमा सबैभन्दा धेरै चीनबाट विद्युतीय सवारी भित्रिने गरेका छन्। आठ महिनामा चीनबाट ५ हजार २६९ वटा इभि नेपाल भित्रिएको छ भने भारतबाट १ हजार ७७५ वटा इभि आयात भएका छन्।