नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको आन्तरिक संकटलाई समाधान दिन सकेन । आज साँझसम्म भएको बैठकले पनि कुनै ठोस निर्णय लिन सकेन ।
सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल जारी रहेको र कुनै निर्णयमा नपुगेको जानकारी दिए ।
पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएको उनले जानकारी दिए । उनले भने, ‘समस्या र संकटलाई निकास दिएर पार्टीको रक्षा गर्ने र जनादेशको सम्मान गर्ने गरी अगाडि बढेका छौं ।’
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आन्तरिक रुपमा छलफल गर्दै प्रस्तावहरु ल्याएर आगामी बैठकमा छलफल हुने उनले बताए ।
पार्टी अध्यक्षद्वयले गृहकार्य गर्दै आएको र सचिवालयले पनि थप गृहकार्य गर्दै पार्टी एकताको रक्षा गर्ने र जनादेशको सम्मान गर्दै अघि बढ्नेबारेमा छलफल भएको उनले बताए ।
भोलि दिनको ३ बजे सचिवालय बैठक बस्ने गरी आजको बैठक स्थगित भएको छ ।