पुँजीबजारमा अनियमितता रोक्न धितोपत्र बोर्डलाई सांसदहरुको आग्रह

काठमाडौँ – धितोपत्र बोर्डले ६० लाख लगानीकर्ताको लगानीको संरक्षण गर्न जिम्मेवार भएर काम गर्नुपर्ने सांसदहरुले बताएका छन्। आइतबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा अधिकांश सांसदहरुले धितोपत्र बोर्डले राज्यको विश्वास गुमाएको भन्दै यसले लगानीकर्ताको हित संरक्षण गर्न असफल भएको बताएका छन्।

सांसदहरुले धितोपत्र बोर्डले विगतका कामले लगानीकर्ताको विश्वास गुमाउँदै गएको भन्दै, अब बोर्डले जिम्मेवारीपूर्वक काम गरेर लगानीकर्ताको विश्वास पुनः जित्नुपर्नेमा जोड दिए।

नेकपा माओवादी केन्द्रका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले पुँजीबजारमा आईपीओ जारी गर्ने क्रममा देखिएको अनियमितता रोक्न धितोपत्र बोर्डले कडा भूमिका निर्वाह गर्नुपर्ने बताए।

नेकपा एमालेका सांसद पदम गिरीले धितोपत्र बोर्ड अर्थ समितिको अधिकार क्षेत्रभित्र पर्ने बताए। नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सेबोन र नेप्सेलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार सुधार गर्न आवश्यक रहेको बताए।

धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले लामो समय रोकिएको आईपीओ निष्कासनको प्रक्रिया अघि बढ्न लागेको जानकारी गराए।

प्रतिक्रिया