अयोध्याबारे प्रधानमन्त्रीको भनाइमा परराष्ट्रको स्पष्टोक्ति: कसैलाई चोट पुर्‍याउन भनेको होइन, राजनीतिक सम्बन्ध छैन

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार रामको जन्मभूमि अयोध्याबारे दिएको अभिव्यक्ति विवादमा परेपछि परराष्ट्र मन्त्रालयले स्पष्टिकरण दिएको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको उक्त भनाइको कुनै राजनीतिक सम्बन्ध नभएको र कसैको भावनालाई चोट पुर्‍याउन नभनिएको बताएको छ।

‘राम र उनीसँग सम्बन्धित विभिन्न मिथक छन्। प्रधानमन्त्रीले राम, रामायण र उक्त सभ्यतासँग जोडिएका थप तथ्यहरू फेला पार्न विभिन्न साँस्कृतिक ठाउँको थप अध्ययन र अनुसन्धान गर्नुपर्ने कुरालाई जोड दिनुभएको हो,’ विज्ञप्तिमा भनिएको छ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको उक्त भनाइ अयोध्याको महत्व र यसले बोक्ने सांस्कृतिक मान्यतालाई कमजोर बनाउनु नभएको पनि जिकिर गरेको छ। परराष्ट्र हरेक वर्ष विवाह पञ्चमीको दिन अयोध्याबाट जनकपुरमा जन्ती आउने कुराको उल्लेख गर्दै दुई वर्षअघि दुबै देशका प्रधानमन्त्रीहरूले जनकपुर-अयोध्या बस सेवाको उद्घाटन गरेको कुरा पनि स्मरण गरेको छ।

यसअघि सोमबार बालुवाटारमा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले साँच्चैको अयोध्या वीरगन्ज नजिकैको एउटा गाउँमा पर्ने भए पनि भारतले नक्कली अयोध्या बनाएको बताएका थिए। हिन्दुहरूका भगवान् राम भारतीय नभई नेपाली भएको उनको दाबी थियो।

प्रधानमन्त्रीको उक्त अभिव्यक्ति अनावश्यक कुरामा अल्पज्ञानका साथ आएको भन्दै चौतर्फी आलोचना भएको थियो।

प्रतिक्रिया