काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ।
सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा आज दिउँसो २ बजे प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ। रामचन्द्र पौडेलले संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा चैत १६ गते अधिवेशन आह्वान गरेका थिए।
बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने र मन्त्रिपरिषद् गठनसम्बन्धी जानकारी दिने कार्यसूची रहेको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको छ।
अधिवेशन प्रारम्भका अवसरमा विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। यसअनुसार रवि लामिछाने, रामबहादुर थापा बादल, पुष्पकमल दाहाल प्रचण्ड, हर्क साम्पाङ र ज्ञानबहादुर शाहीले सम्बोधन गर्नेछन्। नेपाली कांग्रेसका तर्फबाट सम्बोधन गर्ने नेताको टुंगो भने लागिसकेको छैन।
आजको बैठकमा तीन अध्यादेश पनि प्रस्तुत हुनेछन्। गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यसैगरी, प्रतिनिधिसभाको नियमावली नबन्दासम्म हालको नियमावलीअनुसार कामकारबाही सञ्चालन गर्ने प्रस्ताव पनि पेश गरिनेछ। सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची समेत रहेको छ।
आजकै बैठकबाट सभामुख निर्वाचन तालिका सार्वजनिक गरिनेछ। सर्वदलीय सहमतिअनुसार चैत २२ गते सभामुख निर्वाचन गर्ने तयारी गरिएको छ।
बैठकको अन्त्यमा संविधानसभा तथा राष्ट्रियसभाका पूर्व सदस्यहरूको निधनप्रति शोक प्रस्ताव पनि प्रस्तुत गरिने कार्यसूची रहेको छ।