गरीब जनताको लागि सरकारले दियो अर्को ठूलो उपहार - अब विद्युत निशुल्क

काठमाण्डाै – देउवा सरकारले एक पछि अर्को लोकप्रिय निर्णय गर्दै गइरहेको छ । 

अब देखि २० युनिटसम्म खपत गर्ने विपन्न नागरिकलाई बत्ती निःशुल्क बाल्न दिने निर्णय गरेको छ ।

आज ऊर्जा मन्त्री पम्फा भुसालले  आयातित ग्यासलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत् महसुल दरमा पनि समायोजन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । त्यस्तै किसानलाई सिचाइँमा प्रयोग हुने विद्युतमा अधिकतम सहुलियत गर्ने पनि निर्णय गरेको छ ।

‘विदेशी ग्याँस छोडौँ, स्वदेशी बिजुली जोडाैँ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लैजाने मन्त्री भुसालले स्पष्ट पार्नुभयो । यसै वर्षभित्र ५० ओटा विद्युतीय गाडी चार्जिङ स्टेशन बनाउने तथा हेभी ड्युडीका गाडीबाहेक ऊर्जा मन्त्रालय मातहतका कार्यालयले विद्युतीय गाडी खरिद गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

 

उहाँले जल तथा मौसम विज्ञान विभागले विश्वसनीय र भरपर्दो जल तथा मौसम सेवा उपलब्ध गराउने, स्यालो ट्युबेल सीमान्तकृत र साना किसानकाे जीवनस्तर उठाउने माध्यम भएको भन्दै विद्युत् बढी माग हुने समयमा महसुलमा ८० प्रतिशत र अन्य समयमा पूर्णरूपमा छुट दिने पनि बताउनुभयो । यसअघि सञ्चालनमा आइ विद्युत् महसुलको बक्यौताका कारण सञ्चालन हुन नसकेका डीप ट्युबेलको जरिबाना मिनाहा गरिने पनि मन्त्री भुसालले बताउनुभयो ।

प्रतिक्रिया