धितोपत्र बोर्डमा प्रमुख नहुँदा प्राथमिक शेयर निष्कासन ठप्प

काठमाण्डौ । सरकारले धितोपत्र बोर्डमा प्रमुख चयन नगर्दा तीन महिनादेखि प्राथमिक शेयर निष्कासन रोकिएको छ । जसले लगानीको जोह हुन नसकेर आयोजनाहरु समस्यामा पर्न थालेका छन । 

यस अघिका बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल सकिएसँगै बोर्डमा नयाँ प्रमुख चयन नहुँदा यो समस्या आएको हो । हमालको कार्यकाल पुस २२ गतेदेखि सकिएको थियो । बोर्डका निमित्त अध्यक्षका रूपमा बोर्डका कार्यकारी निर्देशक डा। नवराज अधिकारीलाई तोकिएको छ तर अनुमति दिने अधिकार भने उनलाई छैन । 


हाल धितोपत्र बोर्डको पाइपलाइनमा पहिलो समीक्षाको चरणमा १८ वटा कम्पनी रहेका छन् । जसमा जलविद्युत् कम्पनीको ६ वटा कम्पनी रहेका छन् भने चारवटा उत्पादनमूलक समूहअन्तगर्तका रहेका छन् । यस चरणमा प्रिमियम मूल्यमा आइपिओ निष्कासन हुने तीनवटा कम्पनी रहेका छन् । होटेल तथा पर्यटन समूहको एक, लगानीगत समूहको एउटा कम्पनी रहेका छन् । यस चरणमा १६ अर्ब रुपैयाँबराबरको नौ करोड १५ लाख कित्ता सेयर निष्कासनका लागि तयारी अवस्थामा छन् ।


समीक्षा र प्रतिक्रियाको चरणमा बेनी हाइड्रोपावर कम्पनी रहेको छ । २० करोड ८० लाख रुपैयाँबराबरको २० लाख ८० हजार कित्ता निष्कासनका लागि अनुमतिको पखाईमा छ । निष्कासनका लागि अन्तिम समीक्षा र प्रक्रियामा रहेका कम्पनीमा १५ वटा रहेका छन् । जसमा यस चरणमा जगदम्बा स्टिलले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले ६ अर्ब रुपैयाँबराबरको दुई करोड कित्ता सेयर निष्कासन गर्न लागेको हो । यस चरणमा नौवटा जलविद्युत् समूह, चारवटा ‘अन्य’ समूहअन्तर्गतका रहेका छन् भने होटेल तथा पर्यटन समूह एक, उत्पादनमूलक समूह एक गरी ११ अर्ब २७ करोड रुपैयाँबराबरको ७२ करोड ५६ लाख कित्ता सेयर निष्कासनको पर्खाइमा छन् ।

प्रतिक्रिया