• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तर्राष्ट्रिय ,
  • शेयर बजार ,
  • मुख्य खबर

कोरोनाविरुद्धको खोपको पहिलो प्रयोग सुरु : चिनियाँ जनमुक्ति सेनाले थाल्यो प्रयोग

चिनियाँ जनमुक्ति सेनाले चीनमै उत्पादन भएको कोरोनाविरुद्धको भ्याक्सिन प्रयोग गर्न थालेको छ । सोमबार चिनियाँ बायोटेक कम्पनीले उत्पादन गरेको खोपलाई चिनियाँ केन्द्रीय सैन्य आयोगले अनुमति दिएसँगै कोरोनाविरुद्धको खोपको पहिलो प्रयोग सुरु भएको छ ।

पहिलो र दोस्रो चरणको मानव परीक्षणका क्रममा भ्याक्सिनले प्रभावकारी काम गरेपछि कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा आएको हो । यद्यपी यसलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएको छैन । चिनियाँ कम्पनीले उत्पादन गरेका दुईवटा कोरोनाविरुद्धका भ्याक्सिन अहिले तेस्रो चरणको क्लिनिकल परीक्षणमा छन् ।

अहिले प्रयोग गरिएको खोपले मानिसमा कोरोनाविरुद्धको एन्टिबडी राम्रोसँग बिकास गरेको पाइएको छ । यसको कुनै पनि नरात्मक असर नदेखिएको कम्पनीले जनाएको छ । विश्व स्वास्थ्य संगठनले अहिले क्लिनिकल परीक्षणका क्रममा रहेका १७ मध्ये ८ वटा भ्याक्सिन चिनियाँ कम्पनीले उत्पादन गरेका रहेका जनाएको छ ।

यो खोप चिनियाँ जनमुक्ति सेनाको सैन्य चिकित्सा विज्ञान प्रतिष्ठानको संयोजनमा बेइजिङ इस्टिच्युट अफ बायोटेक्नोलोजीले उत्पादन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ सेनाले कतिमात्रामा यो खोपको प्रयोग गर्छ भन्ने केही खुलाएको छैन । व्यवसायिक प्रयोगका लागि भने अनुमोदन गरिएको छैन ।

यसअघि दोस्रो क्लिनिकल परीक्षणका क्रममा यो भ्याक्सिन झण्डै १ हजार २ सय जनामा लगाइएको थियो । उनीहरुमा नतिजा राम्रो भएको थियो । यो भ्याक्सिन तेस्रो चरणको क्लिनिकल प्रयोगमा रहेकै समयमा चिनियाँ सेनाले प्रयोगको अनुमति पाएको थियो ।

मेडिकल जर्नल द लसेन्टका अनुसार कोरोना भाइरसको विरुद्धमा प्रयोग गर्न दर्जनौँ परीक्षणहरु भए पनि अहिलेसम्म व्यवसायिक प्रयोगमा कुनै पनि खोप आएका छैनन् ।

प्रतिक्रिया