कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त, राष्ट्र बैंकको नियन्त्रणमा

काठमाडौं— नेपाल राष्ट्र बैंकले ‘ख’ वर्गको वित्तीय संस्था कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त घोषणा गर्दै नियन्त्रणमा लिएको छ। राष्ट्र बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६(ख) बमोजिम बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो।

समस्याग्रस्त घोषणासँगै, बैंकको व्यवस्थापन राष्ट्र बैंकले ऐनको दफा ८६(ग) अनुसार नियन्त्रणमा लिएको छ। बैंक सञ्चालनका लागि बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ। समूहका अन्य सदस्यमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप-निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप-निर्देशक जुगल किशोर कुशवाहा छन्।

व्यवस्थापन समूहलाई बचतकर्ताको हित संरक्षण गर्ने, बचत भुक्तानी सुनिश्चित गर्ने, ऋण असुलीलाई तीव्रता दिने, र बैंक सञ्चालन सुचारु गराउन आवश्यक निर्णय लिने अख्तियारी दिइएको छ। साथै, बैंकमा देखिएका वित्तीय अपचलनमाथि छानबिन गरी कानुनी प्रक्रिया अघि बढाउन निर्देशन गरिएको राष्ट्र बैंकले जनाएको छ।

कर्णाली डेभलपमेन्ट बैंकले तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेको, संस्थागत सुशासन कमजोर रहेको, आर्थिक हिनामिनाको आशंका गरिएको, र ४०.८५ प्रतिशत निष्क्रिय कर्जा अनुपात रहेको कारण समस्याग्रस्त घोषणा गरिएको हो।

यसअघि, राष्ट्र बैंकले बैंकको वित्तीय अवस्था सुधार गर्न मंसिर ११ गतेदेखि लागू हुनेगरी शीघ्र सुधारात्मक कारबाहीसमेत लागू गरेको थियो। तर, बैंकले तरलता संकटसँगै निक्षेपकर्ताको दायित्व पूरा गर्न नसक्ने अवस्था आएकोले यो कदम चाल्नुपरेको राष्ट्र बैंकले स्पष्ट पारेको छ।

प्रतिक्रिया