प्रचण्डले ओलीलाई भने : राजीनामा दिल्लीले होइन मैले मागेको हो, दुवै पद छाड्नुस्

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटीको बैठकमा नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खन्‍निएका छन्। मंगलबार बोलेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमको घेराबन्दीमा ओली परेका हुन्।

प्रधानमन्त्री ओलीले यही आइतवार आफ्नो सरकारलाई ढाल्न दिल्ली लागिरहेको अभिव्यक्ति दिएका थिए। त्यही अभिव्यक्तिलाई लिएर पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भनाभन भएको हो। अध्यक्ष दाहालले ओलीलाई सबै मोर्चामा असफल भइसकेको भन्दै तत्काल प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिन दबाब दिएका छन्।

प्रधानमन्त्रीले असार १४ गते नेपाल-भारत सीमा विवादको बिषयलाई लिएर भारत र नेपालकै आन्तरिक शक्ति पनि आफू नेतृत्वको सरकार ढाल्ने रणनीतिमा लागिरहेको बताएका थिए।

त्यही बिषयलाई लिएर अध्यक्ष दाहालले मंगलबार स्थायी कमिटीमा आक्रोश पोखेका हुन्। ‘सरकार ढाल्न को सक्रिय भयो?’, ओलीलाई उनले प्रश्‍न गरेका थिए। तर, प्रधानमन्त्री ओलीले भारतीय मिडियामा आएको समाचारलाई लिएर उल्टै आक्रोश पोखेका थिए। तर, अध्यक्ष दाहालले प्रधानमन्त्रीको राजीनामा भारतले नभएर आफैले मागेको भन्दै दुवै पद छाड्न पर्ने बताए।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर अध्यक्षद्वयबीच केहीबेर भनाभनको अवस्था सिर्जना भएको एकजना स्थायी कमिटी सदस्यले बताए। भनाभनको अवस्था भएपछि अध्यक्ष दाहालले ओलीलाई पार्टी नेतृत्व र सरकार दुवैबाट बाहिरिन दबाब बढाएका हुन्। ‘तपाईंले अब पार्टी र सरकार दुवैबाट बाहिरिनुस्’, एकजना स्थायी कमिटी सदस्यले प्रचण्डको भनाइ उद्धृत गर्दै भने, ‘राजीनामा दिल्लीले नभएर मैले मागेको हो, अब तपाई छाड्नुहोस्।’

बैठकमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठामा गम्भीर क्षति पुगेको टिप्पणी अध्यक्ष दाहालले गरे। बैठकमा बोल्दै अध्यक्ष दाहालले भारतसँग लडेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसक्ने पनि बताएका छन्।

प्रतिक्रिया