सडकमा उत्रिए ट्याक्सी व्यवसायी

लकडाउनले ट्याक्सी व्यवसायीहरू मारमा परेको भन्दै सडकमा उत्रिएका छन्। मंगलबार ठूलो संख्यामा ट्याक्सी व्यवसायीहरूले काम गर्न दिनु पर्ने, ऋण थपिँदै गएको, कर मिनाह गर्नुपर्नेलगायत विभिन्न मागहरू राख्दै प्रदर्शनमा निस्किएका हुन्।

यसैगरी उनीहरूले ‘रातो नम्बर प्लेटको सवारीमा कोरोना नसर्ने,कालो नम्बर प्लेटमा मात्रै सर्ने/सार्ने यो कस्तो रोग हो सरकार?‘,‘भोक लाग्यो सरकार काम गरी खान देऊ’, ‘राज्यको दोस्रो एम्बुलेन्सको दर्जामा रहेको अत्यावश्यक सवारी ट्याक्सी सञ्चालन गर’लगायत प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएका हुन्। यातायात व्यवस्था विभाग मिनभवनका महानिर्देशक समक्ष उनीहरूले आफ्ना माग राख्दै ज्ञापनपत्र बुझाएका छन्।

‍’चालकहरू ट्याक्सीसहित थुप्रो मात्रामा निस्किएका छन्। उहाँहरूले ऋण मिनाह गर्नुपर्ने, मारमा परेको भन्दै विभागमा आउनुभएको हो,’महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी वामदेव गौतमले भने,’ट्याक्सीहरूलाई बाहिर राखेर केहीलाई भित्र जान दिइएको छ।’

ती व्यवसायीहरू उपत्यकाका विभिन्न स्थानबाट प्रदर्शन गरेर मिनभवन पुगेका थिए। सरकारले अहिले निजी सवारी साधन जोर-विजोर प्रणालीबाट चल्न दिएको छ भने ट्याक्सी तथा अन्य सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ।

यसरी लकडाउनको नियमविपरीत सञ्चालनमा आएका ट्याक्सी तथा निजी सवारी साधनलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको छ। मंगलबार बिहान ११ बजेसम्म ७ सय २९ दुई पाङग्रे, चार पाङग्रे तथा ट्याक्सीहरूलाई नियन्त्रणमा लिएको छ। त्यसमध्ये तीन सय आठ ट्याक्सी छन्।

नियन्त्रणमा लिइएका सवारी साधनलाई प्रहरीले बेलुकी सात बजे पछाडिमात्रै छाड्ने गर्ने गरेको छ।

प्रतिक्रिया