आश्रममा १० घण्टा खोज्दा पनि भेटिएनन् बम्जन, अदालतमा उपस्थित हुनसक्ने प्रहरी अनुमान

बलात्कार आरोपमा पक्राउ पुर्जी जारी भएका तपस्वी रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रममा काठमाडौंबाट खटिएको नेपाल प्रहरीको टोलीले १० घण्टासम्म खोजी गर्दा समेत फेला पार्न सकेन । प्रहरीले बम्जनले प्रयोग गर्ने गरेका दुईवटा सिमकार्डका आधारमा उनको लोकेसन पत्ता लगाएको थियो ।
काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरो, काभ्रे, सिन्धुली र विशेष कार्यदलका गरेर करिब डेढ सय प्रहरी बम्जनको सिन्धुलीस्थित आश्रममा पुगेका थिए ।

अघिल्लो बिहीबार राति २ बजे आश्रममा पुगेर १० घण्टासम्म खोजी गरे पनि उनलाई त्यहाँ प्रहरीले फेला पार्न सकेन । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले दिएको जानकारीअनुसार उनको मोवाइलका आधारमा लोकेसन पत्ता लगाएर त्यहाँ पुगेको भए पनि घना जंगल भएकाले राति नै उनी त्यहाँबाट जंगल पसेको आशंका छ ।

बम्जनमाथि यौन शोषण र आनी बेपत्ता बनाएको आरोप छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार बम्जनसँग २ वटा सिमकार्ड छन् । उनले बेला बेलामा मात्रै उक्त फोन प्रयोग गर्ने गरेका छन् । बम्जनविरुद्ध ०७६ माघ २३ गते जिल्ला अदालत सर्लाहीबाट पक्राउ पुर्जी जारी भएको थियो ।

अब के हुन्छ ?

बम्जनमाथि बाल यौन शोषणको मुद्दा दर्ता छ । प्रहरीले यौन शोषण गरेको भनिएकी युवती, उनको परिवारलगायतसँग पनि प्रहरीले सोधपुछ गरेको छ । तर युवती र बुबाको धारणा भने फरक परेको प्रहरी बताउँछ । अदालतमा आफैँ उपस्थित हुन सक्छन् बम्जन ! केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख डीआईजी सहकुल थापाका अनुसार बम्जन पक्राउ र मुद्दाको हदम्याद सकिन एक सातामात्रै बाँकी छ ।

उनका अनुसार एक वर्षसम्म अभियुक्त पक्राउ गर्न नसकिएमा प्रहरीले सरकारी वकिलमार्फत अदालतमा मुद्दाको फाइल बुझाउनुपर्ने हुन्छ । त्यसपछि अदालतले वारेन्ट जारी गर्छ । तर एकवर्ष म्याद सकिएपछि बम्जन अदालत उपस्थित हुन सक्ने सम्भावना रहेको प्रहरी अधिकारी तर्क गर्छन् । प्रहरीका अनुसार फाइल बुझाइसकेपछि अदालतले अनुमतिबिना प्रहरीले बम्जनमाथि अनुसन्धान गर्न पाउँदैन । आफूमाथि अदालतको अनुमतिबिना अनुसन्धान नहोस् भनेर पनि बम्जन लुकेर बसेको हुन सक्ने प्रहरी अनुमान छ ।

अदालतको अनुमतिमा भने त्यसपछि पनि प्रहरीले अनुसन्धान गर्न सक्छ । फाइल अदालत पुगेर थुनछेक बहस भएमा अदालतको आदेश नै पर्खिनुपर्ने थापाको भनाइ छ ।

प्रतिक्रिया