काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेड ले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबर ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये १२ करोड रुपैयाँ बराबरका १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। उक्त शेयरमा भोजपुर जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
यसैगरी सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये १० प्रतिशत अर्थात ३ करोड ३ लाख ६ हजार ७०० रुपैयाँ बराबरका ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि राखिएको छ। सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीका लागि ६० हजार ६१३ कित्ता शेयर छुट्याइएको छ।
उक्त शेयरमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन दिने म्याद छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गतेसम्म तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ।
८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमति अवधि २५ वर्ष ४ महिना बाँकी रहेको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री व्यवस्थापकका रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।