काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनअघि प्रमुख तीन दलका तर्फबाट प्रधानमन्त्री बनेका तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यसबारे अनुसन्धान अघि बढाएको हो।
अनुसन्धानको दायरामा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल रहेका छन्। विभागले अनुसन्धानका लागि प्रहरीलाई समेत पत्राचार गरेको छ र दुवै निकायबाट संयुक्त रूपमा अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ।
तीन पूर्वप्रधानमन्त्रीसँगै पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूका परिवारको नाममा रहेका चल-अचल सम्पत्ति र आम्दानीका स्रोतबारे पनि छानबिन भइरहेको जनाइएको छ। आरजु राणाका भाइ भूषण राणामाथि पनि अनुसन्धान जारी रहेको छ।
यसैबीच, प्रहरीले छुट्टै ज्यानसम्बन्धी मुद्दामा केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो। उक्त मुद्दा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानभन्दा फरक रहेको बताइएको छ। यता, विभागले अघि बढाएको मुद्दाअन्तर्गत पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्।
हाल शेरबहादुर देउवा र आरजु राणा देउवा देशबाहिर रहेको जनाइएको छ भने पुष्पकमल दाहाल र भूषण राणालाई भने अहिलेसम्म पक्राउ गरिएको छैन। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको छ भने ओली र लेखकसँग सम्बन्धित ज्यानसम्बन्धी मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंले हेर्दै आएको छ।