रसुवा जिल्लामा ठूलो परिमाणमा तस्करीको सुन बरामद गरिए...
काठमाडौं - सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज माघ १९ गते बिहीबार अन्तिम दिन हो । आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । सानिमा मिडिल तमोरले माघ ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरु र श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबाट आइपीओमा आवेदन लिने कार्य भने माघ १८ गतेदेखि नै बन्द भइसकेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३३ लाख ३२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीयलाई बिक्री खुला गरेको छ । सोमध्ये आयोजना अति प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि १३ लाख ३३ हजार कित्ता छुट्याएको छ । यसमा आवेदकहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना अति प्रभावित क्षेत्रमा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुन गाउँपालिका वडा नं १, मिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला वडा नं १ परेका छन् । यता, प्रभावति ताप्लेजुङ जिल्लाका अन्य स्थानका बासिन्दाहरुलाई भने १९ लाख ९९ हजार ५०० कित्ता सेयर छुट्याइएको छ ।
कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने ‘इक्राएनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ । स्थानीय बासिन्दाहरुले ताप्लेजुङ जिल्लास्थित सानिमा बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालय र सानिमा मिडिल तमोरको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।