गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ । सबैभन्दा धेरै स्याङजामा ६० जनामा कोरोना संक्रमण देखिएको छ । दोस्रो स्थानमा बागलुङ रहेको छ, जहाँ ४० जनामा कोरोना पुष्टि भइसकेको छ ।
नवलपुरमा ३८, पर्वतमा २२, गोरखामा १५, कास्कीमा ५, तनहुँमा ४, म्याग्दीमा, ३ र लमजुङमा १ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेशका कानुन मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।
अन्य प्रदेशमा जस्तै गण्डकीमा पनि भारत तथा तेस्रो मुलुकबाट आउने व्यक्तिमा संक्रमण उच्च देखिएको छ । गत आइतबारसम्म गण्डकी प्रदेशमा ७ हजार ८७ जना अन्य देशबाट आएका छन् । जसमध्ये २८ जना तेस्रो मुलुकबाट आएका छन् भने बाँकी सबै भारतबाट आएका हुन् ।
गण्डकी प्रदेशमा गत चैत १५ गते पहिलोपटक बाग्लुङकी १९ वर्षिया किशोरीमा कोरोना पुष्टि भएको थियो ।
गण्डकीमा मनाङ मुस्ताङबाहेक नौ जिल्लामा कोरोना पुष्टि भइसकेको छ ।
गण्डकी प्रदेशमा हालसम्म कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । स्याङ्जाका एक कोरोना संक्रमितको उपचारका क्रममा पोखरामा मृत्यु भएको थियो । गण्डकी प्रदेशमा ११ जना निको भएर घर फर्किएका छन् ।