यातायातको निर्देशिकाप्रति मजदूरहरु असहमत, गाडी ननिकाल्ने धम्कीपछि छलफलमा बोलायो

यातायात सेवा सुचारु गर्ने सम्बन्धमा यातायात व्यवस्था विभागले मजदूरहरुसँग छलफल थालेको छ । विभागले यातायात सम्बद्ध तीनवटै मजदूर संगठनसंँग कोरोनाभाइरसको जोखिमका बीचमा यातायातको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल गर्न लागेको हो ।

विभागले सबै संगठनहरु नेपाल यातायात मजदूर संघ, अखिल नेपाल यातायात व्यवसायी मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदूर संघलाई बिहीबार दिउँसो छलफलमा बोलाएको नेपाल यातायात मजदूर संघ अध्यक्ष धर्मराज भण्डारीले जानकारी दिए ।

विभागले एकतर्फी रुपमा यातायात सञ्चालन निर्देशिका बनाउन थालेपछि ती संघहरुले ग्यारेजबाट कुनै पनि गाडी ननिकाल्ने धम्की दिएका थिए । मजदूरहरुको उक्त धम्कीपछि उनीहरुका मागलाई समेत निर्देशिकामा समेट्ने आश्वासन विभागका महानिर्देशक गोगनबहादुर हमालले दिएको बताइएको छ ।
महानिर्देशक हमालले भने विभागले यातायात सञ्चालनसम्बन्धी निर्देशिका तयार गरेर सरोकारवालाहरुसँग छलफल गरिरहेको भन्दै आवश्यक परिमार्जनसहित जारी गरेर यातायात सञ्चालनको मोडालिटी बनाउने बताएका छन् ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले ३ चरणमा लकडाउन खोल्नेगरी निर्णय गरेको बताइएको छ । जसअनुसार आजदेखि पहिलो चरणको लकडाउन खुला हुनेछ । २१ दिनपछि दोस्रो चरण र त्यसको १५ दिनपछि तेस्रो तरणमा लकडाउन खुला हुनेछ । सरकारको निर्णय अनुसार यातायात सेवा खुला गर्दै जाने विभागले प्रस्ताव गरेको हो ।

प्रतिक्रिया