क्वारेन्टाइनको एउटै कोठाका ३ जनामा कोरोना संक्रमण

बाँकेको कोहलपुर नगरपालिकामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । नगरपालिकाको स्वास्थ्य शाखा संयोजक डिल्ली पोखरेलका अनुसार कोहलपुर–१२ चप्परगौडीको ज्ञानज्योति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा एउटै कोठामा बसेका तीनजना युवाामा कोरोना पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालाले बुधबार कोहलपुर १२ का १८ वर्षका दुई र २२ वर्षका एक युवकमा कोरोना पुष्टि गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि अपराह्न आयोजना गरेको भिडियो पत्रकार सम्मेलनमा कोहलपुरका ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

८ जेठमा भारतको महाराष्ट्रलगायतका राज्यबाट आएका उनीहरुलाई सुरुमा बागेश्वरी क्याम्पस र ४ दिनपछि ज्ञान ज्योतिको क्वारेन्टाइनमा स्थानान्तरण गरिएको थियो । क्यारेन्टाइनमा बसेको १४ दिनमा आरडीटी परीक्षण गर्दा एक युवकको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । पोजिटिभ रिपोर्ट आएको युवासँगै एउटै कोठामा बसेका अन्य चार गरी ५ जनाको २१ जेठमा स्वाब संकलन गरिएको थियो । तीन जनाको पोजिटिभ र दुई जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य संयोजक पोखरेलले बताए । संक्रमितलाई कोहलपुरकै पिपरीस्थित कृषि विकास बैंकको तालिम केन्द्रको आइसोलेसन सेन्टरमा राखिने कोहलपुर नगरपालिकाले जनाएको छ ।

कोहलपुरमा आरडीटी पोजिटिभ रिपोर्ट आएका थप ६ जनासहित १७ जनाको रिपोर्ट भने अझै आउन बाँकी छ । बाँकेमा १९ वैशाखमा नेपालगन्ज ५ का ६० वर्षका वृद्धमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लाका अन्य सात स्थानीय तहमा कोरोना पुष्टि भए पनि कोहलपुरमा कोरोना देखिएको थिएन ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लाका सबै स्थानीय तह (८ वटै) मा कोरोना संक्रमितको संख्या दुई सय ८२ पुगेको जनाएको छ । कोरोनाबाट नरैनापुर गाउँपालिका ५ का २५ वर्षका एक युवाको निधन भएको छ । कोरोना निको भएर घर फर्कने संख्या ९७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया