काँग्रेस नेता पौडेलद्वारा गृह जिल्लामा स्वास्थ्य सामाग्री सहयोग

बागलुङ, जेष्ठ २६ – नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रिय सदस्य किरणराज पौडेलले आफ्नो गृह जिल्ला बागलुङमा स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेका छन । पौडेलले आफ्ना बाबु स्व. हेमराज शर्मा पौडेलको स्मृतिमा सोमबार बागलुङ नगरपालिका–१२ अमलाचौर र १३ को पैयुँपाटामा स्वास्थ्य सामाग्री सहयोग गरेका हुन ।

देशमा कोरोना भाईरसको संक्रमण दैनिक सयौंको दरले बृद्धि भएको छ । यो विपदको बेला आफ्नो जिल्लामा केही सहयोग गरौं भन्ने उद्देश्यले स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको पौडेलले बताए । उनले कोरोनाको जोखिम न्युनिकरणका साथै स्वास्थ्यकर्मिहरुको मनोबल उचो बनाउनका निम्ती आफ्ना बाबुको स्मृतिमा उक्त सामाग्री हस्तान्तरण गरेको बताए ।
स्टार फाउण्डेशनको आर्थिक सहयोगमा प्रत्येक वडाका लागी २ सय ५० थान सर्जिकल मास्क, १० थान केएन ९० माक्स, दुई सय थान ग्लोब्स, दुई लिटर सानिटाईजर र १÷१ थान थर्मल गन (ज्वरो नाप्ने यन्त्र) वडा अध्यक्षलाई हस्तान्तरण गरिएको छ । उक्त स्वास्थ्य सामाग्री वडा कार्यालयले आवश्यकता अनुसार स्वास्थ्य संस्था र क्यारेन्टिन व्यवस्थापनका निम्ती प्रयोग गर्नेछ ।

स्वास्थ्य सामाग्री अमलाचौरका वडा अध्यक्ष गुरुदत्त पाठक र पैयुँपाटाका कार्यबहाक वडा अध्यक्ष एकनाथ रेग्मीलाई हस्तान्तरण गरिएको थियो । बरिष्ठ समाजसेवी एवं शिक्षा प्रेमीको रुपमा परिचित स्व. हेमराज शर्मा पौडेल जिल्लाकै सामाजिक अभियान्त थिए । उनको तेस्रो बार्षिकी पुण्य तिथिको अवसरमा छोरा किरणराज पौडेलले स्वास्थ्य सामाग्री सहयोग गरेका हुन । स्व. शर्माको नाममा हेमराज प्रतिष्ठान समेत रहेको छ । प्रतिष्ठानले गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रबृति प्रदान गर्दै आएको छ ।

विपदको बेलाको सानो सहयोगले पनि ठुलो राहत पुगेको बानपा–१२ का वडा अध्यक्ष गुरुदत्त पाठक पाठकले बताए । स्व.हेमराज शर्मा पौडेल यस क्षेत्रको बरिष्ठ शिक्षा प्रेमी एवं समाजसेवी हुनुहुन्थ्यो । पाठकले भने’ ‘उहाँको सम्झनामा किरणजी सहयोगी हात लिएर आउनुभएको छ । उहाँलाई हामी वडाबासीको तर्फदेखी हार्दिक कृतज्ञता प्रकट गर्दछौं । उनले विपदको बेलाको सहयोगलाई जनताले कहिलै नभुल्ने बताए । हस्तान्तरण कार्यक्रममा काँग्रेस पैयुँपाटाका सभापति चन्द्रबहादुर खत्री, अमलचौरका सभापति कोपिलामणी शर्माको सहभागिता रहेको थियो ।

प्रतिक्रिया