चितवनस्थित भरतपुर अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा एक युवकको मृत्यु भएको छ । ११ दिनअघि भारतबाट माडी आएका २७ वर्षीय युवकको शनिबार मृत्यु भएको अस्पतालका डाक्टर प्रमोद पौडेलले बताए ।
‘आज बिहान एक्कासी समस्या देखिएपछि भेन्टिलेटरमा सार्यौं,’ डाक्टर पौडेलले भने, ‘तर स्थिति थप नाजुक भएपछि उहाँको साढे १० बजे मृत्यु भयो ।’ उनी उपचारका लागि नयाँदिल्ली गएर फर्केका थिए ।
हालै भारतबाट फर्किएपछि उनलाई माडीकै क्वारेन्टिनमा राखिएको थियो । ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएका ती युवकलाई शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो ।
कोरोना संक्रमण थियो कि थिएन भनेर मृतक युवकको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको छ । आझै कोरोना परीक्षण रिपोर्ट आउने अस्पतालले जनाएको छ ।