आज गणतन्त्र दिवस

काठमाडौं — नेपालमा गणतन्त्र व्यवस्था कार्यान्वयनमा आएको १८ वर्ष पूरा भएको छ। तत्कालीन सात दलद्वारा सञ्चालित शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र द्वन्द्वमा सहभागी तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को संघर्षको परिणामस्वरूप देशले २४० वर्षे राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको अभ्यास थालनी गरेको थियो।

२०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले निरङ्कुश राजतन्त्र अन्त्यको ऐतिहासिक घोषणा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको थियो। त्यस दिनको सम्झनामा प्रत्येक वर्ष जेठ १५ मा गणतन्त्र दिवस मनाइन्छ। यस परिवर्तनले नेपाली जनतालाई स्वतन्त्रता, समानुपातिक समावेशी न्याय, नागरिक सर्वोच्चताको प्रत्याभूति दिलाएको थियो।

गणतन्त्र दिवस वंशाधारित शासन प्रणालीमाथि जनताको विजयको प्रतीकको रूपमा समेत लिइन्छ। संघीय गणतन्त्रले जनतालाई शिक्षा, स्वास्थ्य, यातायात, सामाजिक सुरक्षा तथा गरिबी निवारणमा अधिकार सुनिश्चित गर्दै राष्ट्रिय एकता र समृद्धिको मार्ग पहिल्याउने मूल उद्देश्य लिएको छ। साथै, अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको गरिमा स्थापित गर्नु गणतन्त्रको प्रमुख लक्ष्यको रूपमा हेरिएको छ।

प्रतिक्रिया