२४औँ गोर्खा कपको उपाधि राङभाङ समाज यूके फुटबल क्लबलाई

अल्डरसट । तमु धीं यूकेद्वारा २४ मे २०२६ मा आयोजना गरिएको २४औँ गोर्खा कप २०२६ को मुख्य प्रतियोगिताको उपाधि राङभाङ समाज यूके फुटबल क्लबले जितेको छ। अल्डरसटस्थित क्विन्स एभिन्यू फुटबल मैदानमा सम्पन्न फाइनल खेलमा राङभाङ समाज यूकेले गुरुजी इलिट एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतिष्ठित उपाधि आफ्नो नाममा दर्ज गरेको हो। नेपाली समुदायबीच ‘नेपालीहरूको ओलम्पिक’का रूपमा परिचित गोर्खा कपको उपाधि जित्दै क्लबले ऐतिहासिक सफलता हासिल गरेको हो।

फाइनल खेल अत्यन्त प्रतिस्पर्धात्मक र मनोरञ्जनपूर्ण बनेको थियो। प्रतियोगिता हेर्न करिब २० हजार दर्शकको उत्साहजनक उपस्थिति रहेको बताइएको छ। विजेता टोली राङभाङ समाज यूके फुटबल क्लबमा १५ खेलाडी सहभागी रहेका थिए भने टोलीको कप्तानी साम गुरुङले सम्हालेका थिए।

राङभाङ समाज यूकेका अध्यक्ष, साथै साहारा फुटबल क्लब यूकेका पूर्व अध्यक्ष शारदा गुरुङका अनुसार टोलीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै कुनै पनि खेलमा गोल नखाई फाइनलसम्मको यात्रा तय गरेको थियो। फाइनलमा समेत प्रभावशाली खेल प्रस्तुत गर्दै टोलीले २–० को जित निकालेको उहाँले जानकारी दिनुभयो।

प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका नवाङ शेर्पा ‘म्यान अफ द म्याच’ घोषित भएका थिए। राङभाङ समाज यूकेको यो सफलताले यूकेस्थित नेपाली समुदायमा थप उत्साह र गौरव थपेको बताइएको छ।

प्रतिक्रिया