काठमाडौं । दुई दिनको सार्वजनिक विदापछि खुलेको शेयर बजारमा आज दिनभरि उतार-चढाव देखा परे पनि बन्द हुने बेला नेप्से सूचक सामान्य रूपमा बढेको छ। नेप्सेमा वृद्धि भए पनि कारोबार रकममा भने ठूलो गिरावट आएको छ।
यस दिन, परिसूचक २ अंकले बढेर समग्र बजार २९६८ विन्दुमा पुगेको छ भने आजको कारोबार रकम १८ अर्ब ९० करोडमाथि पुगेको छ। यो अघिल्लो कारोबारको तुलनामा करिब १० अर्बले घटेको हो। ३३७ कम्पनीको शेयर किनबेच भएकोमा १०० कम्पनीको शेयर मूल्य बढेको भए पनि बाँकी सबैको घटेको छ।
यस दिन आधा दर्जन कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने फाइनान्स समूहमा ठूलो वृद्धि भएको छ। आज होटल व्यापार उपसमूहमा ठूलो गिरावट आएको छ भने एक कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
नयाँ सरकार गठन भएसँगै २ हजार विन्दुमा रहेको नेप्सेमा सुधार हुँदै कारोबार रकममा आक्रामक वृद्धि भएको थियो। अहिलेको उतार-चढावलाई लगानीकर्ताहरूले पनि सामान्य मान्ने गरेका छन्।