काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार दोस्रो कारोबार दिन पनि ओरालो लागेको छ। मंगलबार नेप्से ४.६४ अंकले घटेर २,६९६.६७ विन्दुमा बन्द भएको हो।
बजारसँगै कारोबार रकम पनि घटेको छ। आज कुल ३६० कम्पनीका एक करोड ४ लाख २१ हजार ८६३ कित्ता सेयर चार अर्ब ४२ करोड ७३ लाख ५ हजार ५४२ रुपैयाँमा खरिद–बिक्री भएका छन्। अघिल्लो दिन भने छ अर्ब ८ करोड ८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
आज ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६६ कम्पनीको मूल्य घटेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
क्षेत्रगत रूपमा फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र व्यापार समूहका उपसूचक बढेका छन्। बाँकी सबै उपसूचक भने घटेका छन्।
मंगलबार एभरेष्ट कलरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै, ६ प्रतिशतभन्दा बढीले घटेको छ।
यसअघि सोमबार नेप्से ३३.२८ अंकले घटेर २,७०१.३२ विन्दुमा बन्द भएको थियो। त्यस दिन एक करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयर छ अर्ब ८ करोड ८ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको थियो।