बागलुङ—राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले गृहजिल्ला बागलुङमा क्रियाशिल पत्रकारको कोरोना बिमा गर्न सहयोग गरेका छन् । मुलुकमा कोभिड—१९को संक्रमण फैलिइरहेका बेला फ्रन्टलाइनमा जोखिम मोलेर रिर्पोटिङ गरेर जनतालाई सुसुचित गर्न महत्वपूर्ण भुमिका खेल्ने पत्रकारको एक लाख रुपैयाँ बराबरको कोरोना बिमा गरेका हुन् । नेपाल पत्रकार महासंघ बागलुङको संयोजन, नेपाल प्रेस युनियनको सहजीकरणमा आफ्ना बाबुको स्मृतिमा भिमनाथ शर्मा स्मृति प्रतिष्ठान मार्फत बिहीवार एक कार्यक्रमको आयोजना गरी जिल्लामा क्रियाशिल ५२ पत्रकारको प्रभु इन्सोरेन्समा बिमा गरिएको हो । बिमा गर्दा लाग्ने शुल्क पौडेलले सहयोग गरेका हुन् ।
जिल्लाको बागलुङ नगरपालिका—१२ अमलाचौरका सामाजिक व्यक्तित्व स्व. भिमनाथ शर्माको स्मृतिमा छोरा पौडेलले प्रतिष्ठान स्थापना गरेर सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । राज्यको चौथो अंग पत्रकारिताले पु¥याएको योगदानको सम्मान गर्दै जोखिम न्यूनिकरणमा सहयोग पुगोस् भनेर बिमा गर्न सहयोग गरेको सहअध्यक्ष पौडेलले बताए ।
कोरोना बिमा गरेर सहयोग पु¥याएको भन्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले धन्यवाद दिए । । कोरोना संकटमा तिव्र जोखिमका बीच सामाजिक र पेशागत उत्तरदायित्व बहन गर्दै अग्रभागमा खटिएका पत्रकारहरुका लागि गरिएको यो सहयोगले पत्रकारको मनोबल उच्च भएको उनले बताए । कार्यक्रममा भिमनाथ स्मृति प्रतिष्ठानका सदस्य एवं बागलुङ जिल्ला संयोजक गोविन्द बहादुर पौडेल गोपालले पत्रकारकालागि प्रतिष्ठानमार्फत बिमाका लागि लाग्ने आवश्यक रकम सहयोग गरिएको बताए ।
सहअध्यक्ष पौडेलले भिमनाथ शर्मा प्रतिष्ठानमार्फत यसअघि पनि बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीलाई थर्मल गन, पिपिई, मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री वितरण गरेका थिए ।