ढोरपाटन नगरपालिकाले लिएको परीक्षामा अनियमितता भएको आशंका

बागलुङ : जिल्लाको तमानखोला गाउँपालिकाकी सूर्यकुमारी ब्ुढा आईतबार साँझ खुशीले फुरुङ्ग भईन् । ढोरपाटन नगरपालिकाले लिएको करार कर्मचारी अहेबको लिखित परीक्षामा उनले नाम निकाल्न सफल भएकी थिईन् । आईतबार प्रकाशित नतिजाको मौखिक र प्रयोगात्मक परीक्षाका लागि सोमबार बोलाईएको थियो । उनी मौखिक र प्रयोगात्मक परीक्षाको तयारीमा लागिन् । उनको खुशी धेरैबेर टिक्न सकेन ।

नगरपालिको सोमबार बिहान फेरि अर्को नतिजा प्रकाशित ग¥यो । जहाँ उत्तिर्णको सूचीमा उनको नाम थिएन । हतार हतार नगरपालिकामा फोन गर्दा उनले जवाफ पाईन,‘हिजो प्राविधिक त्रुटी भएको रहेछ आज सच्याएर निकालिएको हो ।’उनी जस्तै निशीखोला गाउँपालिका—६ की ऋतु घर्ती पनि आईतबारको नतिजामा उत्तिर्ण भएर सोमबार अनुत्तिर्ण भएकी छिन् ।

जिल्लाको ढोरपाटन नगरपालिकाले आह्वान गरेको कर्मचारीको परीक्षाफल दुई पटक प्रकासित गरेर उत्तिर्णलाई अनुत्तिर्ण र अनुत्तिर्णलाई उत्तिर्ण गराएपछि ढोरपाटनमा बबाल मच्चिएको छ । ढोरपाटन नगरपालिकाले करारमा भर्ना गर्नेगरी अहेब, स्टाफ नर्स÷अनमी तथा कार्यालय सहयोगीका लागि वैशाख १८ गते दरखास्त आह्वान गरेको थियो । जेठ १० मा भएको लिखीत परीक्षाको नतिजा आईबार साँझ सार्वजनिक गरिएको हो । ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोख्रेलले हस्ताक्षर गरेर प्रकाशित गरेको उक्त नतिजा ढोरपाटन नगर स्वास्थ्य शाखा प्रमुख घनश्याम चालिसेले सामाजिक सञ्जाल फेसवकुमा पोष्ट गरेका थिए ।

सोमबार बिहान भने उत्तिर्ण भएकाहरु अनुत्तिर्ण हुने गरी नयाँ नतिजा सार्वजनिक भयो । अहेब पदका लागि परीक्षा दिएकी सूर्यकुमारी बुढाले आफ्नो सिम्बोल नम्बर आईतबार उत्तिर्ण भएको सूचीमा भए पनि सोमबार प्रकाशित नतिजामा अनुत्तिर्ण देखाईएको बताईन् । ‘अहेबका लागि परीक्षा दिएको हुँ, सिम्बोल नम्बर १८२३०५ आईतबार उत्तिर्णमा थियो,’ उनले भनिन्,‘सोमबार बिहान अर्को रिजल्ट आएछ । त्यहाँ मेरो सिम्बोल नम्बर छैन ।’ नगरपालिकामा सोध्दा प्राविधिक गल्ती भएकाले सुधारेर नतिजा प्रकाशित गरेको भन्ने जवाफ पाएको उनले बताईन् । अनमीका लागि परीक्षामा सहभागी ऋतु घतीको सिम्बोल नम्बर ११४१३११ पनि आईतबार प्रकाशित नतिजामा उत्तिर्णको सूचीमा छ । सोमबार निकालिएको सूचनामा भने उनको सिम्बोल नम्बर उल्लेख छैन ।

नगरपालिकाले आईतबार प्रकाशित गरेको सूचनामा अहेब÷हेल्थ असिस्टेन्टको परीक्षामा १८२३०१, १८२३०२, १८२३०४, १८२३०५, १८२३०७, १८२३०८ उत्तिर्ण भएको उल्लेख छ । सोमबार बिहान प्रकाशित गरेको नतिजामा भने १८२३०१, १८२३०२, १८२३०३, १८२३०६, १८२३०७, १८२३११, १८२३१२ सिम्बोल नम्बर उत्तिर्ण भएको उल्लेख गरिएको छ । आईतबारको सूचना उत्तिर्ण देखिएका १८२३०४, १८२३०५, १८२३०८ सोमबार फालिएका छन् भने १८२३०३, १८२३०६, १८२३११, १८२३१२ थपिएको छ ।

आईतबार अहेब÷हेल्थ असिस्टेन्टमा ६ जनाको नाम प्रकाशित गरिएकोमा सोमबार ७ जनाको नाम निकालिएको छ । स्टाफ नर्स÷अनमी तर्फ आईतबार ११४१३०१, ११४१३०२, ११४१३०३, ११४१३०६, ११४१३०७, ११४१३११, ११४१३१२, उत्तिर्ण भएका थिए । सोमबारको सूचनामा ११४१३०१, ११४१३०२, ११४१३०४, ११४१३०५, ११४१३०७, ११४१३०८, उत्तिर्ण भएका छन् । आईतबारको सूचनामा उत्तिर्ण देखिएका ११४१३०३, ११४१३०६, ११४१३११, ११४१३१२ सोमबार हटाईएको छ । ११४१३०४, ११४१३०५, ११४१३०७, ११४१३०८ सोमबारको सूचनामा थपिएको छ ।

कार्यालय सहयोगीमा भने आइतबार र सोमबार निकालिएको सिम्बोल नम्बरमा कुनै हेरफेर गरिएको छैन । कार्यालय सहयोगीका लागि ११ जनाको नाम लिखित परीक्षामा उत्तिर्ण गराईएको छ । प्राविधिक कमजोरीका कारण नतिजा यता उता परेका कारण सच्याएको नगरपालिको जानकारी दिएको परीक्षार्थी ऋतु घर्तीले बताईन् । नगरापालिकाले दुई पटक नतिजा प्रकाशित गरी फेरवदल गरेको भन्दै ढोरपाटनमा यसको चर्को आलोचना भएको छ ।

स्थानीय दिपेन्द्र श्रेष्ठले आईतबार निकालेको सूचना आर्थिक प्रभावमा परी नगरपालिकाले रातारात परिवर्तन गरेको आरोप लगाएका छन् । ‘११ गते स्वास्थ्य शाखा प्रमुखले निकालेको सूचनामा उत्तिर्ण भएका विद्यार्थी १२ गते मौखिक परीक्षा दिन जाँदा नाम नभेटेपछि निराश भएका छन्,’ उनले सामाजिक सञ्जालमा आईतबार र सोमबार प्रकाशित नगरपालिकाका दुई सूचना राखेर लेखेका छन्,‘आर्थिक प्रभावमा परी आम नागरिकको स्वाथ्य र विद्यार्थीको भविष्य माथि खेलवाड गरिएको छ ।’

नेपाली काँग्रेस नेता दोर्ण कुँवरले हिजो पास भएकाहरु आज फेल हुने अनियमितता भएकोले परीक्षार्थीलाई अख्तीयार जान सुझाएको बताए । ‘यो नगरपालिकाको गम्भीर लाहपरबाही मात्रै होईन यहाँ आर्थिक चलखेल पनि भएको भन्ने देखिन्छ,’ उनले भने,‘होईन भने हिजो उत्तिर्ण भएको मान्छे रातभरीमा कसरी फेल हुन पुग्यो ?’ नगरप्रमुख र प्रमुख प्रशासकिय अधिकृतको मिलेमतोमा रातारात परीक्षाको नतिजा बदलिएको उनको आरोप छ । ढोरपाटन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोख्रेलले भने नतिजा फेरवदल नभई त्रुटी भएको कुरा मात्र सच्याएको बताए ।

‘कम्प्युटर गर्ने बेला स्टाफ नर्स÷अनमीको लेख्नुपर्ने ठाउँमा हेल्थ असिष्टेन्ट÷अहेबको र हेल्थ असिष्टेन्ट÷अहेबको लेख्नुपर्ने ठाउँमा स्टाफ नर्स÷अनमीको रिजल्ट प्रकाशित हुन पुगेछ,’ उनले भने,‘त्यसलाई मात्रै सच्याएका हौं । नतिजा तलमाथि भएको छैन ।’ आईतबार ६ जना हेल्थ असिस्टेन्ट÷अहेब र ७ जनो स्टाफ नर्स÷अनमीको नाम निकालिएको सोमबार उल्टाएर ७ जना हेल्थ असिस्टेन्ट÷अहेब र ६ जना स्टाफ नर्स÷अनमीको नामावली प्रकाशित गरिएको छ । नगरपालिकाले आईतबार प्रकाशित गरेको अनमीको सिम्बोल नम्बर र सोमबार प्रकाशित गरेको अहेबको सिम्बोल नम्बरको अन्तिम अंकहरु मेल खाएको देखिन्छ । त्यस्तै आईतबार प्रकाशित अहेबको सिम्बोल नम्बर र सोमबार प्रकाशित अनमीको सिम्बोल नम्बरको अन्तिम अंक पनि एक आपसमा मेल खाएका छन् ।

ढोरपाटन नगरप्रमुख देबकुमार नेपालीले पनि भुलबस केही त्रुटी भए पनि नियतबस नतिजा बदल्ने काम नभएको बताए । ‘पास भएकालाई फेल गराउने र फेल भएकालाई पास गराउने काम भएका छैन,’ उनले भने,‘केही व्यक्तिहरुले अनावश्यक रुपमा अफवाह फैल्याउने काम गरेका छन् । तलमाथि परेकोलाई सच्याएको मात्रै हो । आर्थिक चलखेल भएको भन्ने झुटो हो, मैले त्यसो हुन दिएको छैन र दिन्न ।’ आफुले निष्पक्ष नतिजा प्रकाशनका लागि निर्देशन दिएको र कुनै चलखेल नभएको समेत उनले दाबी गरे ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय