काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ उम्मेदवारी दिन नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ। साथै सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण पनि पेश गर्नुपर्नेछ।
सरकार, प्रदेश सरकार वा स्थानीय तहमा पारिश्रमिक पाउने पदमा बहाल रहेका व्यक्तिले उम्मेदवारी दिनुअघि सो पदबाट राजीनामा दिएको निस्सा बुझाउनुपर्ने व्यवस्था गरिएको छ। उम्मेदवारी दर्ताका क्रममा प्रतिनिधि मुकरर गरेको फाराम, स्वघोषणा पत्र, वैयक्तिक विवरण फाराम तथा चल–अचल सम्पत्तिको विवरण सिलबन्दी रूपमा पेश गर्नुपर्ने आयोगले जनाएको छ।
मनोनयनपत्र दर्ता गर्दा सोही निर्वाचन क्षेत्रका एक जना प्रस्तावक र एक जना समर्थकको विवरण तथा हस्ताक्षर आवश्यक हुनेछ। राजनीतिक दलबाट उम्मेदवारी दिएको खण्डमा सम्बन्धित दलको केन्द्रीय नेतृत्वबाट जारी गरिएको आधिकारिक मनोनयन पत्र बुझाउनुपर्नेछ। संयुक्त रूपमा निर्वाचनमा सहभागी दलका उम्मेदवारका हकमा पनि आयोगले तोकेको ढाँचाअनुसारको मनोनयन पत्र अनिवार्य गरिएको छ।
उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद पेश गर्नुपर्नेछ। महिला, दलित, अल्पसंख्यक तथा आर्थिक रूपमा विपन्न उम्मेदवारलाई सो धरौटी रकममा ५० प्रतिशत छुट दिइने व्यवस्था छ। आर्थिक रूपमा विपन्न भएको प्रमाणका लागि सम्बन्धित स्थानीय तहको सिफारिस पत्र अनिवार्य गरिएको आयोगले जनाएको छ।
यसका साथै उम्मेदवारले कुनै निकायबाट लिएको पेस्की फर्छ्योट गरेको प्रमाण तथा लेखा परीक्षणबाट किटानी रूपमा कायम भएको बेरुजु फर्छ्योट गरेको निस्सा पनि पेश गर्नुपर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।