संविधान संशोधन विधेयक सर्वसम्मत रुपमा पारित गर्ने वातावरण बनाउन सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरुले संविधान संशोधन विधेयकमा सबै राजनीतिक दलहरूबीच सहमतिको वातावरण बनाउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको आइतरबार बसेको बैठकले निशान छाप संशोधन गर्नका लागि संसदमा दर्ता भएको नेपालको संविधान (दोस्रो संशोधन) संविधान संशोधन, २०७७ विधेयकमा सबै दलहरूबीच सहमति जुटाउन सरकारलाई आग्रह गरेको हो ।

प्रमुख प्रतिपक्षी कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधान संशोधन विधेयक पास गर्ने बेलासम्म सबै दलहरुबीच सहमति जुटाउन सरकारलाई आग्रह गर्ने सहमति भएको बताए । संविधान संशोधन विधेयक परिपक्‍व हुन सात दिन लाग्‍ने कानुनी व्यवस्थाअनुसार यो अवधिमा सरकारले राजनीतिक दलबीच सहमति जुटाउनुपर्ने विषयमा छलफल भएको खाँणले बताए ।

सभामुख अग्नि सापकोटाले राष्ट्रियताको विषयमा एकमत भएर अगाडि बढ्नुपर्ने भएकाले सर्वदलीय बैठकका लागि आफूले पहल गर्ने बताए ।

सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेको थियो । सोहीअनुसार निसान छाप परिमार्जन गर्ने संविधान संशोधन विधेयक दर्ता गरिएको छ । बैठकले सांसदहरूले लगाउने लोगो रोष्ट्रममा भएको प्रतीक चिह्नलाई अद्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया