असहज मागका कारण रास्वपा–उज्यालो नेपाल सहकार्य अन्त्य

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको एकता औपचारिक रूपमा भाँडिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम दिन पुस १४ गते हतारमा गरिएको सहमति १३औँ दिनमा आएर टुटेको हो ।

रास्वपा नेता गणेश पराजुलीले उज्यालो नेपाल पार्टीसँगको एकता भाँडिएको पुष्टि गरेका छन् । उनका अनुसार अधिकतम लचकता अपनाउँदासमेत सहकार्यलाई निरन्तरता दिन नसकिएपछि हालका लागि एकता स्थगित गरिएको हो ।

रास्वपा स्रोतका अनुसार उज्यालो नेपाल पार्टीका नेता कुलमानले सम्बोधन गर्न नसकिने खालका माग राखेपछि सहकार्य अगाडि बढ्न नसकेको हो । स्रोतका अनुसार कुलमानले आफूलाई वरिष्ठ नेता मान्यता दिनुपर्ने, बालेन शाह प्रधानमन्त्री नबने आफू नै प्रधानमन्त्री बन्नुपर्ने अडान राख्ने, महामन्त्री पदको माग गर्ने तथा पार्टीको नाममा ‘उज्यालो’ जोड्न जिद्दी गरेपछि एकता भाँडिएको हो ।

समानुपातिक बन्दसूची बुझाएपछि नै कुलमान समूह रास्वपासँग असन्तुष्ट रहँदै आएको बताइएको छ । उज्यालो नेपाल पार्टी स्रोतका अनुसार आफ्नो समूहबाट रिमा विश्वकर्माबाहेक अन्य कसैलाई पनि सांसद बन्ने गरी सूचीमा नराखिएको विषयले असन्तुष्टि बढाएको थियो ।

यसबाहेक कुलमानको प्रधानमन्त्री बन्ने आकांक्षा पनि एकता भाँडिनुको प्रमुख कारण बनेको बताइन्छ । निकटस्थ स्रोतका अनुसार आन्तरिक बैठकमा कुलमानले २५ देखि ३० सिट ल्याउन सके प्रधानमन्त्री बन्न सकिने भन्दै ब्रिफिङ गरेका थिए ।

एकता भाँडिएसँगै अब कुलमानले उज्यालो नेपाल पार्टीको नेतृत्व सम्हाल्ने तयारी गरेका छन् ।

प्रतिक्रिया