कविता “उठौँ जागौ” – तीर्थराज जोशी

युवाहरु जुटेपछि बिहानीमै उठेपछि
बहन्छ सिर्जना नदी मुहान त्यो फुटेपछि ।

उठौँ जुटौँ सबेरमै ढिलो नहोस् कतै पनि
नरोकिएर मार्गमा प्रवाहशील नै बनी ।

हिमालको पहाडको तराईको कुना कुना
युवा उठेर ब्युँझियून् अनन्त बोकी सिर्जना ।

सुगन्ध फैलियोस् यहाँ कला फुलोस् सबैतिर
अनेक भित्र एकता पवित्र स्वच्छ सुन्दर ।

फुलीरहून् युवाहरु उठाई जोस जाँगर
बनेर सिर्जनामुखी लिएर भाव सुन्दर ।

सबै मिले अघि बढे पुगिन्छ लक्ष्य टाकुरा
सजाउनु छ धर्ती यो बनेर पुष्प आँकुरा ।

प्रतिक्रिया