काठमाडौं । शेयर बजारमा सुधार आएसँगै लगानीकर्ताहरू पुनः सक्रिय हुन थालेका छन् । पछिल्लो समय सार्वजनिक भएका प्राथमिक शेयर (आईपीओ) तथा थप सार्वजनिक निष्कासन (एफपीओ) मा परेको आवेदनले यो कुराको पुष्टि गरेको छ। हालै जारी भएको स्वरोजगार लघुवित्तको एफपीओ पहिलो दिनमै अत्यधिक आवेदन परेको छ।
नेपालमा झन्डै ६० लाख प्राथमिक शेयर खाता रहेको भए पनि सक्रिय लगानीकर्ता संख्या मात्र १० लाखको हाराहारीमा सीमित थियो। तर, पछिल्लो समय शेयर बजारको सुधारसँगै यो संख्या दोब्बर हुन थालेको देखिन्छ। यसको पछिल्लो उदाहरण स्वरोजगार लघुवित्त वित्तीय संस्थाले फागुन १८ गतेदेखि जारी गरेको एफपीओ हो, जसमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ।
आज साँझ ५:०६ बजेसम्ममा ४ लाख ७१ हजार ७१८ जना आवेदकले कुल ६० करोड ४६ लाख २० हजार रुपैयाँ बराबरको आवेदन दिएका छन्। यो सर्वसाधारणका लागि उपलब्ध सेयरभन्दा ३०.८८ गुणा बढी हो। कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ अनुसार सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत पुर्याउन एफपीओ निष्कासन गरेको हो।
कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको छ, जसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता सेयर बिक्री खुला गरिएको छ। लगानीकर्ताले फागुन २१ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन मेरो सेयर तथा सी–आस्वा प्रणालीमार्फत दिन सकिनेछ भने एनएमबि क्यापिटल यस एफपीओको निष्कासन तथा बिक्री प्रबन्धक रहेको छ।
यसैबीच, क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई ‘इक्रा इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम सुरक्षाको सङ्केत गर्छ। इक्रा नेपालले यो रेटिङ २०८१ साउन १४ गते प्रदान गरेको हो, जुन २०८२ साउन १३ गतेसम्म मान्य हुनेछ।