ग्रामीण अर्थतन्त्र बलियो बनाउनु पर्छ– कांग्रेस वरिष्ठ नेता पौडेल

काठमाडौं, वैशाख ३०-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ग्रामीण अर्थतन्त्र बलियो बनाउनु पर्ने बताएका छन् । त्यसका लागि कृषिको उत्पादन वृद्धिमा जोड दिनुपर्ने पौडेलले बताए ।

पौडेलले मंगलबार आर्थिक पत्रकारसँगको अन्तरक्रियामा पौडेलले आगामि बजेटमा कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने धारणा राखे । कोभिड–१९को असरले मुलुकको अर्थतन्त्रमा ठूलो क्षती पुगेकाले कृषिमार्फत अर्थतन्त्रको पुर्नउत्थान गर्नुपर्ने बताए ।

कोरोनाको कारण धेरैको रोजगारी गुमेको र वैदेशिक रोजगारमा गएका युवा घरमा फर्किने भएकाले कृषि क्षेत्रमा रोजगारी सृजना गर्नुपर्ने धारणा राखे । ‘ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउनु पर्छ,’ पौडेलले भने, ‘प्रतिफल दिने कृषि क्षेत्रमा लगानी बढाउनु प¥यो ।’

वरिष्ठ नेता पौडेलले मुलुकमा संघीयता आए पनि अर्थप्रणालीमा संघीयता नआएको भन्दै ग्रामिण अर्थतन्त्रलाई बलियो बनाउनु पर्ने बताए । ‘आर्थिक संघीयता कायम गर्नुपर्ने अहिलेको आवश्यकता छ,’ उनले भने, ‘गाउँलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्छ ।’

सरकारले नयाँ ढाँचाको बजेट बनाउनु पर्ने उनको सुझाव छ । ‘राज्यले प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुपर्छ,’ उनले भने । प्राकृतिक स्रोत, साधनको उपयोग गर्दै स्वाबलम्बी अर्थतन्त्र निर्माण गर्नुपर्ने पौडेलको तर्क थियो । मुलुक आर्थिक रुपमा सवल बन्नुपर्ने बताउँदै समाजवाद उन्मुख अर्थतन्त्रका लागि सार्वजनिक, निजी र सहकारीलाई सँगसँगै अघि बढाउनु पर्ने धारणा राखे । औद्योगिक उत्पादन वृद्धि गरेर उत्पादनको बजार सुनिस्चितता गर्नुपर्ने पौडेलले बताए ।

प्रतिक्रिया