एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयरबाट अवितरित संस्थापक समूह र सर्वसाधारण समूहका शेयर माघ २० गतेदेखि लिलाम गर्ने भएको छ। कम्पनीले संस्थापक समूहका २९,९७७.३१ कित्ता र सर्वसाधारण समूहका २,९०,५५५.९१ कित्ता गरी कुल ३,२०,५३३.२२ कित्ता शेयर लिलाममा राख्ने जानकारी दिएको छ।
लिलामी प्रक्रियाको व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ, र सोभन्दा बढी मूल्य कबुल गरेर आवेदन दिन सकिनेछ। सर्वाधिक मूल्य कबुल गर्नेले शेयर पाउने व्यवस्था छ। बाँकी शेयरको हकमा दोस्रो उच्च मूल्य कबुल गर्नेको आवेदन स्वीकृत हुनेछ। यसरी क्रमशः सबै शेयर बाँडफाँड गरिनेछ।
संस्थापक समूहका शेयरमा न्यूनतम १,००० कित्ता र सर्वसाधारण समूहका शेयरमा न्यूनतम १०० कित्ता आवेदन दिनुपर्नेछ। अधिकतम आवेदन भने सम्पूर्ण उपलब्ध शेयरका लागि दिन सकिनेछ। संस्थापक शेयरमा आवेदन दिन नेपाल बीमा प्राधिकरणबाट संस्थापक शेयरधनीको योग्यताको प्रमाणित कागजात अनिवार्य पेश गर्नुपर्नेछ।
शिलबन्दी फारम मार्फत आवेदन दिन सकिनेछ, जुन काठमाडौँमा लक्ष्मी सनराइज क्यापिटलको कमलपोखरी कार्यालयबाट प्राप्त गर्न सकिनेछ। साथै, लक्ष्मी सनराइज बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यसअघि, कम्पनीले मङ्सिर ११ देखि पुस १६ सम्म हालको चुक्तापुँजीको १०:६.२५६ अनुपातमा ९६,३१,२२१.२२ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो। यसमा ९३,१०,६८७ कित्ता शेयर वितरण भइसकेको र बाँकी ३,२०,५३३.२२ कित्ता शेयर अब लिलाममा आएको कम्पनीले जनाएको छ।