एकै दिन पाए दुई कम्पनीले आइपीओ निष्कासन अनुमती

काठमाडौं। नेपालमा पहिलोपटक औषधि क्षेत्रको कम्पनी पुँजी बजारमा प्रवेश गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले ओम मेगाश्री फार्मास्युटिकल्सलाई आइपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) ल्याउन अनुमति दिएको छ। बोर्डले माघ ३ गते अनुमति प्रदान गरेसँगै अब कम्पनीले १८ लाख कित्ता सेयर जारी गर्नेछ।

कम्पनीले जारी गर्ने सेयरको कुल मूल्य १८ करोड रुपैयाँ हुनेछ। यो आइपीओको बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटलले लिएको छ।

यो निर्णयसँगै औषधि उद्योगमा नेपालमा नयाँ इतिहास रचिएको छ। ओम मेगाश्री फार्मास्युटिकल्स पुँजी बजारमा प्रवेश गर्ने पहिलो औषधि कम्पनी बनेको छ। 

त्यस्तै 

क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर (आइपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। बोर्डले माघ ३ गते कम्पनीलाई जारी पूँजीको ३० प्रतिशत सेयर निष्कासनको अनुमति दिएको हो।

कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँ रहेको छ। यसअनुसार, कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर प्रति कित्ता १०० रुपैयाँ दरमा सार्वजनिक गर्नेछ। आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइएमबीएस क्यापिटल लिमिटेडले गर्नेछ।

क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सले २०७९ चैत २८ मा लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरेको थियो। २०८० जेठ ८ मा नेपाल बीमा प्राधिकरणबाट व्यवसाय सञ्चालनको स्वीकृति पाएको कम्पनीले जेठ १० गते पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भई आफ्नो सेवा सञ्चालनमा ल्याएको हो।

कम्पनीमा ७० प्रतिशत लगानी नेपाली प्रतिष्ठित व्यवसायी समूहहरूको रहेको छ भने आइपीओ पश्चात सर्वसाधारणको ३० प्रतिशत हिस्सेदारी रहनेछ। न्यून आय भएका, पिछडिएका क्षेत्रका बासिन्दा तथा सिमान्तकृत समुदायलाई लघु जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले कम्पनी स्थापना भएको हो।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय