पोखरा विमानस्थल निर्माणमा अनियमितता, अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा पूर्वसचिव केदारबहादुर अधिकारी सहित २१ जना र ठेकेदार कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ। अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टी का मुख्यसचिव समेत हुन्।

अख्तियारले विशेष अदालत मा दायर गरेको मुद्दामा नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारी समेतलाई प्रतिवादी बनाइएको छ।

यसैगरी प्राधिकरणका वरिष्ठ इन्जिनियर, लेखा अधिकृतहरू, China CAMC Engineering Co. Ltd. तथा परामर्शदाता ERMC/A-not/Slate JV का प्रतिनिधिहरूलाई पनि मुद्दामा समावेश गरिएको छ।

अख्तियारले करिब ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो दाबी गरेको छ। विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा गरिएको इपीसी (EPC) मोडल अन्तर्गत परामर्श सेवाका लागि २८ लाख अमेरिकी डलर बराबरको रकम पहिले नै सुरक्षित गरिएको थियो।

तर, उक्त रकम प्रयोग नगरी प्राधिकरणका उच्च अधिकारीहरूले छुट्टै आन्तरिक स्रोतबाट ५० करोडभन्दा बढी लागत स्वीकृत गराई दोहोरो खर्च गराएको अभियोगपत्रमा उल्लेख छ। ठेक्का सम्झौताको सर्तविपरीत सीमित प्रतिस्पर्धाबाट परामर्शदाता नियुक्त गरी राज्यलाई नोक्सानी पुर्‍याइएको ठहर अख्तियारको छ।

त्यसैगरी ठेकेदार कम्पनीले गर्नुपर्ने काममा लागत बढाउन मूल्य सूचीमा फेरबदल गरिएको, डिजाइनमा परिमाण घट्दा पनि मूल्य नघटाइएको र थप सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढाएर भुक्तानी लिइएको अनुसन्धानबाट खुलेको छ।

निर्माण सम्पन्न भएर सञ्चालनमा आइसके पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकिरहेको अवस्थामा यो भ्रष्टाचार प्रकरण सार्वजनिक भएको हो।

प्रतिक्रिया