सार्वजनिक लेखा समितिले कोरोना भाइरस(कोभिड–१९) जोखिम न्यूनीकरणका लागि ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनलसँगको स्वास्थ्य सामग्री खरिद प्रक्रियाको छानबिन अघि बढाएको छ ।
यद्यपि उक्त खरिद प्रक्रिया रद्द गरेर कम्पनीको धरौटीसमेत जफत गर्ने निर्णय सरकारले गरिसकेको छ । समितिले आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग खरिद प्रक्रियाका सम्पूर्ण कागजात एक साताभित्र उपलब्ध गराउन माग गरेको छ ।
समिति सचिव डा. रोजनाथ पाण्डेले अनियमित कामका विभिन्न प्रकरण बाहिर आएपछि समितिले छानबिन प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको हो । ‘समिति सभापतिले सबैसँग परामर्श गरेपछि कागजात माग गर्न हामीले आज मन्त्रालयलाई पत्र पठाएका हौँ । कागजात प्राप्त भएपछि अध्ययन अनुसार छानबिनको प्रक्रिया अघि बढ्छ भने।
पत्राचारमा भनिएको छ, ‘स्वास्थ्य सेवा विभागमार्फत बिना प्रतिस्पर्धा ओम्नी विजनेस कर्पोरेट इन्टरनेसनलसँग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गर्ने कार्य अगाडि बढाइएकोमा सो खरिद सम्झौता रद्द गरिएको बुझिएकाले यस सम्बन्धमा समितिले छानबिन कार्य अघि बढाउन आवश्यक देखेकाले सो सम्बन्धमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजात तथा खरिद प्रक्रियामा भए गरेका सम्पूर्ण कागजात सात दिनभित्र समिति सचिवालयमा उपलब्ध गराइदिनुहुन निर्देशानुसार अनुरोध छ । ’