श्रमिहरुलाई सुरक्षा सावधानीका साथ काममा लगाएको निर्माण कम्पनीले बागलुङ–पर्वत जोडने झोलुङ्गे पुल निर्माणको कार्य लकडाउनकै समयमा सम्पन्न गरेको छ ।
२०७५ चैतबाट सुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५ सय ६७ मिटर लामो पुलको निर्माण कार्य गत चैत्रमा सम्पन्न भएको हो । निर्माण सम्पन्न भएको पुलको उद्घाटन र हस्तान्तरणको काम मात्रै बाँकी छ । पुल निर्माण कार्य सकिएको ठेकेदार कम्पनी थानी÷बिएलटि÷हिमशिखर कन्स्ट्रक्सनका प्रतिनिधि नरहरी खड्काले जानकारी दिए । पुलमा बिजुलीको लागि आवश्यक ‘वायरिङ्ग’ को काम मात्रा अहिले चलिरहेकोे छ ।
‘वायरिङ्गको काम पनि आधा सम्पन्न भएको छ’ खड्काले भने ‘लकडाउनमा पनि हामीले निश्चित घेराभित्र रहेर काम गरेका छौं ।’ पुल बैशाख ९ गते उद्घाटन गर्ने कार्यक्रम तय भए पनि लकडाउनको कारण प्रभावित भएको छ ।
कालीगण्डकी नदिमाथि बनेको झण्डै एक सय ३० मिटर अग्लो झोलुङ्गे पुलको लठ्ठा तान्न गाह्रो र चूनौतीपूर्ण भएपनि आधुनिक प्रविधिको सहायताले नमुना परियोजना सम्पन्न भएको कम्पनीका प्रतिनिधि खडकाको भनाई छ । लकडाउन अवधिमा पनि १६ जना कामदारले नियमित काम गरेका थिए । निर्माण सकिएपछि उनीहरु पाङतर्फको भागमा बसेका छन् ।
२८ वटा लठ्ठा तानिएको पुलमा कुल ९४५ वटा स्टिल डिक (फ्ल्याक) विछ्याइएको छ । पुलको परस्क्यार फिटमा चार जना अट्नसक्ने क्षमता रहेको र पुल भरिभराउ भएपनि थेग्न सक्ने क्षमताको हुनेछ । पुल निर्माणपछि बागलुङ बजारसँग व्यवसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिका लगायतका जनताका लागि सहज पुहुँच पुग्नेछ ।
कालीगण्डकी नदीमाथि बन्ने उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडकखण्डको ठिकमाथि रहेकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले बताए ।
‘सस्पेन्सन’ पुल बिभागमार्फत भएको खुल्ला बोलपत्र प्रक्रियाबाट निर्माणको जिम्मेवारी थानी÷विएलटी÷हिमशिखर जेभी निर्माण कम्पनीसंग ६ करोड ९१ लाख रुपैँयामा ठेक्का सम्झौता थियो । उक्त पुल नेपाली इन्जिनियरहरुले नै डिजाईन गरेका हुन् ।
यो पुल एसियाकै लामो भएको निर्माण कम्पनीको दाबी छ । कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टीस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एशियामा लामो मानिने भएपनि यहाँ बन्न लागेको पुल खुल्ला प्रकृतिको पहिलो हो । चाँदनी–दोधारा पुलमा १४÷१५ वटा टावर राखेर बनाइएको छभने बागलुङमा बनेको पुल खुल्ला आकाशमा बनेकोले पनि नेपालकै सबैभन्दा लामो पुल रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काको दाबी छ ।