वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि

वीरगञ्जमा रहेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा वीरगन्जबाट ल्याइएका तीन बिरामीको स्वाब परीक्षण गर्दा काेराेना ‘पाेजेटिभ’ देखिएकाे पुष्टि भएकाे हाे ।

उनीहरूकाे स्वाब हेटौंडा-१० स्थित कीटजन्य रोग अनुसन्धान तालिम केन्द्रस्थित प्रयोगशालामा जाँच गर्दा पोजिटिभ देखिएपछि थप पुष्टिकाे लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएकाे थियाे । टेकुमा पनि उनीहरूमा काेराेना पाेजेटिभ नै देखाएकाे स्राेतले बताएकाे छ ।

नेपालभित्र लगातार ७ औं दिनसम्म संक्रमण नदेखिएकोमा आज आठौं दिनमा नयाँ तीन व्यक्तिमा संक्रमणको पुष्टि भएको हो । उनीहरु मध्ये २ जना उत्तर प्रदेशका र एक जना दिल्लीका भएको बताइएकाे छ ।

याेसँगै नेपालभित्र काेराेना संक्रमित हुनेकाे संख्या १२ पुगेकाे छ । यसअघि सुदुरपश्चिम प्रदेशमा पनि एकैदिन तीन जनामा कोरोना भएको पुष्टि भएको थियो । मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखन्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को संक्रमण देखिएको थियाे ।

पहिलो स‌ंक्रमितको गत माघ ९ गते कोरोना परीक्षण गिरएको थियो । सो क्रममा उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार अहिलेसम्म ४ हजार ४ सय २६ जनाको कोरोना परीक्षण गरिएको छ । ८२ जना आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया