नेप्से ६.३२ अंकले घट्यो, कारोबार ४ अर्बमा सीमित

काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गिरावट देखिएको छ।

नेप्से परिसूचक ६.३२ अंकले घट्दै ०.२३ प्रतिशतले घटेर २६६९.८२ विन्दुमा पुगेको छ। कारोबार रकममा पनि गिरावट देखिंदै ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ। दिनभर ३०३ कम्पनीको ८७ लाख ६८ हजार ५६६ कित्ता शेयर ५२ हजार ७०५ पटक किनबेच भएका छन्।

मंगलबार ८५ कम्पनीको शेयर मूल्य बढेको भए पनि १४८ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ। यस दिन निफ्राको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

समग्रमा १३ मध्ये ४ समूहको परिसूचक बढेको छ। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ०.३३ प्रतिशतले वृद्धि भएर ६७९७.८२ विन्दुमा पुगेको छ। अन्य बढ्ने समूहमा होटेल तथा पर्यटन, लघुवित्त र ट्रेडिङ समूह रहेका छन्।

यता, जीवन बीमा समूह सबैभन्दा बढी १ प्रतिशतले घटेर १२,९७७.९१ विन्दुमा पुगेको छ। यसैगरी वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, हाइड्रोपावर, लगानी, म्युचुअल फण्ड र निर्जीवन बीमाजस्ता समूहमा पनि गिरावट आएको छ।

प्रतिक्रिया