साइट ‘ह्याक’ गरेको असगर अलीको कम्पनी सिरानटेकको स्वीकारोक्ति

काठमाडौं प्रेस नामक न्युज पोर्टलमा अनधिकृत प्रवेश गरी समाचार डिलिट गरिएको विषय स्वीकार गर्दै सिरानटेकले माफी मागेको छ । बिहीबार राति सिरानटेकको तर्फबाट सिइओ सुवास शर्माले आफ्नो ट्वीटरमार्फत् प्रेस विज्ञप्ति जारी गर्दै गल्ती भएकामा माफी मागेको हो ।

उसले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘सम्पादक परियार र सिरान टेक्नोलोजिजको व्यवस्थापनबीच समाचारका विषयमा सम्वाद चलिरहेको बेला गलत सूचनाका कारण सिरान टेक्नोलोजिजको प्राविधिक टिमले न्युजपोर्टलबाट उक्त समाचार हटाइएको छानबिनका क्रममा पाइयो ।’

कुनै सञ्चारगृहबाट समाचार प्रकाशन भएकै आधारमा उक्त समाचार नै डिलिट गरेको घटनाका सम्बन्धमा चैत १९ गते नै रातोपाटीले ‘प्रधानमन्त्रीका ‘आईटी विज्ञ’को कर्तुत : आफूविरुद्ध समाचार लेखेको वेबसाइटलाई अनधिकृत नियन्त्रण लिएर समाचार नै हटाए’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

काठमाडौं प्रेससँग गरिएको कुराकानीकै आधारमा रातोपाटीले उक्त समाचार प्रकाशन गर्दै ह्याकिङको खतरामा नेपालका डिजिटल मिडिया रहेको उल्लेख गरेको थियो ।

काठमाडौं प्रेसको वेभसाइटको डेभलपर सिरान टेक्नोलोजिज थियो र सिरान टेक्नोलोजिज एफ वान सफ्टको भगिनी संस्था थियो । एफ वान सफ्टले नै इसेवा, फोन पे, विभिन्न बैङ्कका मोबाइल एप आदि निर्माण गरेको थियो । एफ वान सफ्टका मालिक प्रधानमन्त्रीका सूचनाप्रविधि विज्ञ असगर अली र विश्वास ढकाल हुन् ।

काठमाडौं प्रेसले असगर अली र इसेवासमेतलाई जोडेर चैत १८ गते समाचार लेखेपछि चैत १९ गते नै सिरान टेक्नोलोजिजबाट काठमाडौं प्रेसलाई फोन गरी समाचार हटाउन आग्रह गरिएको सिरान टेककै विज्ञप्तिमा उल्लेख छ । तर काठमाडौं प्रेसले समाचार नहटाएपछि चैत १९ गते बिहान ११ बजेर २२ मिनेट जाँदा सिरान टेक्नोलोजिजले नै समाचार डिलिट गरिदिएको सञ्चारगृहको दाबी थियो ।

यद्यपि समाचार हटाएको वा डिलिट गरेको सम्बन्धमा प्रधानमन्त्रीका सूचना प्रविधिविज्ञ समेत रहेका, सिरानटेक तथा एफ वान सफ्टका मालिक असगर अलीले कुनै प्रतिक्रिया जनाएका थिएनन् । तर बिना छाप र बिना हस्ताक्षर सिरानटेकले जारी गरेको विज्ञप्तिमा भने आफ्नो तर्फबाट नै समाचार डिलिट गरिएको स्वीकार गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्, ‘प्रोपोगाण्डा’

प्रधानमन्त्रीका सूचनाप्रविधि विज्ञ असगर अली तथा प्रधानन्त्रीका सचिवालय सदस्यहरुको सम्बनधमा समाचार आएको र उक्त समाचार हटाउन असगर अलीकै कम्पनीका सदस्यले दबाब दिएको विषय उसैले जारी गरेको विज्ञप्तिमा स्वीकार गरिसकिएको छ । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बिहिबार साँझ विज्ञप्ति जारी गर्दै यसमा सचिवालयका कसैको पनि हात नरहेको भन्दै त्यसलाई ‘प्रोपोगाण्डा’ भनेका थिए ।

प्रतिक्रिया