बुटवल । लकडाउनको ९ दिन वितिसक्दा पनि नेपाल–भारतको सिमा नाका सुनौलीमा अलपत्र परेका दुवै देशका नागरिकहरुको व्यावस्थापन हुन सकेको छैन् । नेपाल भारत सीमा नाका सुनौलीमा अलपत्र परेका नेपालीलाई भारतमै क्वारेन्टाइनमा राखेर व्यवस्थापन गरिएको छ ।
केही दिनदेखि सीमा क्षेत्र सुनौली दशगजामा बस्दै आएका ३ सय नेपालीलाई नौतनवामा राखिएकोे हो । नेपाल र भारत दुई देशका सुरक्षा अधिकारीबीचको संवादले दुवै देशमा अलपत्र परेका नागरिकलाई आ–आफ्नै देशतर्फ व्यवस्थापन गर्ने सहमति भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।
नेपालबाट भारततर्फ जानका लागि बेलहिया पुगेका १ सय ५६ जना भारतीय मजदुरलाई भने नेपाल पक्षले क्वारेन्टाइनमा राख्ने गरी सहमति भएको छ । सुनौलीपारी भारतका बिभिन्न स्थानबाट आएका झण्डै ३ सय जना नेपाली अलपत्र अबस्थामा रहेका छन् । उनीहरुलाई भारतीय पक्षले खाना खुवाएर राखेको छ ।
भारतमा लकडाउन भएपनि त्यहाँका विभिन्न स्थानमा काम गर्ने नेपालीहरु आउने क्रम अहिलेसम्म नरोकिँदा सुनौलीमा अलपत्र पर्नेहरुको संख्या थपिदै गएको छ । उनीहरुले नेपाल प्रवेश गर्न नपाएपछि भोकभोकै बस्नुपरेको गुनासो पोखिरहेका छन् । सीमामा अलपत्र परेका नेपालीलाई भारतको नौतनवातर्फ लगिएको छ ।
नेपालतर्फ प्रतिमान–निमा कलेजको क्वारेन्टाइनमा बसेका भारतीय नागरिकहरुलाई सिद्धार्थनगर गरपालिकाले व्यवस्थापन गरेको हो । यहाँ खानपिनको व्यवस्था छ । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमै राखिने जिल्ला प्रहरी कार्यालले जनाएको छ ।
त्यस्तै क्वारेन्टाइनमा रहेका भारतीय नागरिकहरुको व्यवस्थापनमा बेलहिया समाजले पनि सहयोग गरेको स्थानीय रमेश पोखरेलले बताए । सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई समूह बनाएर नेपाल ल्याउन प्रदेश ५ सरकारले निर्णय गरे पनि त्यो भने कार्यान्वयन हुन सकेन ।
दुवै देशका नागरिक दशगजा क्षेत्रमा अलपत्र परेपछि स्थानीयस्तरबाट दुवै देशका सरकारप्रति आलोचना समेत बढेको छ । नेपाली काँग्रेस प्रदेश पाँच संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले सरकारले समयमै ध्यान नदिँदा समस्या आएको बताइन् ।