बजार पूँजीकरणमा ३० अर्बको गिरावट, कारोबार रकम घट्दो क्रममा

काठमाडौं। गत साताको धितोपत्र दोस्रो बजारलाई हेर्दा नेप्से परिसूचक केही घटेको देखिन्छ, तर बजार सम्हालिने संकेत पनि देखिएको छ। अघिल्लो साताको तुलनामा गत साता नेप्से परिसूचक शून्य दशमलव ८१ प्रतिशत अर्थात् २२ दशमलव २१ अंकले घटेको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन २ हजार ७४९ दशमलव ५७ विन्दुमा रहेको नेप्से, गत साताको अन्तिम दिन २ हजार ७२७ दशमलव ३६ विन्दुमा बन्द भएको छ।

गत साता पाँच कारोबार दिन खुला रहँदा, दुई दिन बजार बढेको र तीन दिन घटेको देखियो। पहिलो दिन ५३ दशमलव ६३ अंक घटेको बजार दोस्रो दिन १२७ दशमलव ३२ अंक र तेस्रो दिन ६ दशमलव ९४ अंकले उक्लिएको थियो। चौथो दिनमा ९० दशमलव ७३ अंकले बजार घट्दा, अन्तिम दिन पुनः १२ दशमलव १० अंकको गिरावट देखियो।

बजार घट्नुपर्ने ठोस कारण नभए पनि चाडबाड नजिकिएसँगै नाफा बुक गर्न चाहने लगानीकर्ताका कारण यस्तो घटावट आएको हो। ब्रोकरहरू भने बजारमा दीर्घकालीन वृद्धिको अपेक्षा गरिरहेका छन्। पूँजी पर्याप्त भए पनि, कर्जा सजिलै पाइने अवस्थाका कारण लगानीकर्तामा उत्साहको कमी देखिएको छ। ब्रोकरहरूले पूँजीबजार नै अहिलेको अवस्थामा लगानीको प्रभावकारी विकल्प भएको बताएका छन्।

गत साता पाँच कारोबार दिन खुला हुँदा कारोबार रकम अघिल्लो चार कारोबार दिनभन्दा कम रह्यो। अघिल्लो साता ६४ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको १४ करोड ९९ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा, गत साता ५९ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको १३ करोड ५० लाख भन्दा बढी कित्ता कारोबार भयो। औसत कारोबार रकम र कित्ता दुवैमा गिरावट आएको छ, जहाँ अघिल्लो साताभन्दा औसत कारोबार रकम २६ प्रतिशत र कारोबार कित्ता २८ प्रतिशतले घटेको छ।

बजार २ हजार ७०० विन्दु माथि कायम भए पनि, कुल बजार पूँजीकरण ४३ खर्ब ३६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो साताभन्दा ३० अर्बले घटेको हो।

प्रतिक्रिया