• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तरवार्ता ,
  • अन्तर्राष्ट्रिय ,
  • मुख्य खबर

कोरोनाभाइरस संक्रमण विश्व महामारी घोषित

विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको संक्रमणलाई विश्व महामारी घोषित गरेको छ ।

यो भनेको एक किसिमले विश्वभरि नै स्वास्थ्य आपतकालको स्थिति पैदा भएको कुराको घोषणा पनि हो ।

तर विश्व स्वास्थ्य संगठनले यो कोरोनाभाइरस नियन्त्रण गर्न सकिने खालको महामारी भएको कुरा उल्लेख गर्दै प्रमाणस्वरुप विभिन्न ठाउँहरुमा, अझ विशेष गरेर चीनमा यसको संक्रमण नियन्त्रणमा आउँदै गरेको कुरालाई अघि सारेको छ ।

स्मरणीय के छ भने, चीनको हुबेई प्रान्तको राजधानी ऊहानबाट शुरु भएको कोरोनाभाइरसको महामारी चीनमा त नियन्त्रण हुँदै गइरहेको छ तर त्यसको ठीक विपरीत यस संक्रमणको विस्तार संसारका ९० भन्दा बढी मुलुकहरुमा फैलिइसकेको छ । दिनानुदिन यसको संक्रमण नयाँ नयाँ मुलुकहरुमा देखापर्दै गइरहेको छ भने यसै महामारीका कारण मर्नेहरुको संख्या पनि विश्वका विभिन्न मुलुकहरुमा बढ्दै गइरहेको छ । यो समाचार तयार पार्दासम्म मात्रै संसारभरिमा कोरोनाभाइरस संक्रमितको संख्या १ लाख २२ हजार २ सय ८९ पुगिसकेको छ भने यसैको कारण मर्नेहरुको संख्या पनि ४ हजार ३ सय ८९ पुगेको छ ।

छोटो अवधिमै यस भाइरसको संक्रमणको विस्तारको तथ्यांक जति भयावह छ, त्यति नै सुखद कुरा के पनि छ भने यस भाइरसबाट संक्रमित भएर निको हुनेहरुको संख्या पनि ६७ हजार ९ जना पुगिसकेका छन् । फलतः यतिखेर ५० हजार ८ सय ९१ जना मात्रै यसबाट संक्रमितको अवस्थामा छन् । निकाे हुन बाँकी संक्रमित मध्ये पनि ४५ हजार १४३ जनामा संक्रमणको मध्यम खालको असर देखिएको छ । यो भनेको ८९ प्रतिशत हो भने ५ हजार ७ सय ४८ जनाको अवस्था चाहिँ गम्भीर छ । यो भनेको ११ प्रतिशत हुन आउँछ ।

यो भाइरसको संक्रमित हुनेहरुमध्ये सबैभन्दा बढी ८० हजार ७ सय ९० चीनमा रहे भने चीनपछि इटाली १० हजार १४९ जना र इरान ९ हजार रहे । त्यसै गरी दक्षिण कोरियामा ७ हजार ७ सय ५५ जना, स्पेनमा २,१८८ जना, जर्मनीमा १ हजार ८ ५३ जना, फ्रान्समा १ हजार ७ सय ८४ जना र अमेरिकामा १ हजार १६ जना संक्रमित रहे । १ हजारभन्दा कम संक्रमित हुनेहरुमा स्वीट्जरल्याण्ड ६ सय ५२ जना, जापान ६ सय ३९ जना, नेदरल्याण्ड ५ सय ३ जना छन् । पाँचसयभन्दा कम संक्रमित देखापरेका देशहरुमा स्वीडेन, नर्वे, बेलायत, डेनमार्क, वेल्जियम, कतार, अस्ट्रेलिया, बहराइन सिंगापुर, मलेसिया, अस्ट्रेलिया, हंगकंग छन् ।

सयभन्दा कम संख्यामा संक्रमित हुनेहरुमा चाहिँ क्यानडा, ग्रीस, आइसल्याण्ड, इजरायल आदि देशहरु छन् ।

कोरोनाभाइरसका संक्रमणका कारण सबैभन्दा बढी मृत्यु ३ हजार १ सय ५८ जना चीनमा, ६ सय ३१ जना इटाली, ३ सय ६४ जना इरान, ६० जना दक्षिण कोरिया र ४९ जना स्पेनमा भएका छन् । त्यसबाहेक, जर्मनी, फ्रान्स, अमेरिका, स्वीट्जरल्याण्ड, जापान, नेदरल्याण्ड, बेलायत जस्ता देशहरुमा पनि क्रमशः ३, ३३, ३१, ४, १५, ५ र ६ जनाको मृत्यु भइसकेको छ ।

त्यसो त सबैभन्दा बढी निको हुनेहरुमा पनि चीनमा ६१ हजार ६ सय ११ जना, इटालीमा १ हजार ४ जना, इरानमा २ हजार ९ सय ५० जना छन् । त्यसबाहेक अन्य देशहरुमा पनि निको हुनेहरु छन् ।

प्रतिक्रिया