काठमाडौं । हमासको आक्रमणपछि बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले पुष्टि गरेका छन्। उनका अनुसार आइतबार साँझ करिब साढे सात बजे इजरायली डिफेन्स फोर्सकी एक महिला अधिकारीले दूतावासमा फोन गरी जोशी जीवित नरहेको जानकारी दिएकी थिइन्।
यो जानकारी पाएपछि दूतावासले अमेरिकामा रहेकी जोशीकी दिदी पुष्पा जोशी र महेन्द्रनगरमा रहेका ठुलोबुबाका छोरा किशोर जोशीसँग भिडियो कन्फ्रेन्समार्फत सम्पर्क गरी घटनाको पुष्टि गरेको राजदूत पण्डितले बताए। उनले भने, “हामीलाई इजरायली अधिकारीले औपचारिक रूपमा विपिन अब जीवित नरहेको जानकारी गराए।”
पण्डितका अनुसार जोशीको मृत्युबारे थप विवरण र शवको अवस्थासम्बन्धी जानकारीका लागि दूतावास इजरायली अधिकारीहरूसँग निरन्तर समन्वयमा छ। उनले भने, “शव कहिले हस्तान्तरण हुन्छ भन्ने विषय अहिले स्पष्ट छैन, हामी निरन्तर सम्पर्कमा छौं।”
विपिन जोशी विद्यार्थी भिसामा इजरायल पुगेका थिए। हमासको आक्रमणका बेला उनी दक्षिण इजरायलको किबुत्ज अलुमिम क्षेत्रमा रहेका थिए। आक्रमणपछि उनी सम्पर्कविहीन बनेका थिए र त्यसयता बेपत्ता रहेका उनीबारे अब मृत्यु पुष्टि भएको हो।